नेकपा एमालेका नेता शेरधन राईले अब एमालेको ध्यान मिसन ८४ मा केन्द्रित हुने बताएका छन् । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले स्थायी कमिटी सदस्य साथै एमाले कोशी प्रदेश इन्चार्ज राइले यस्तो बताएका हुन् ।
प्रेस चौतारी नेपाल ओखलढुंगाले बिहीबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा राईले मुलुकको नेतृत्व गर्ने निर्णायक तहमा एमाले पुग्न चाहेकोले त्यसैको तयारीमा अब पार्टी केन्द्रित भएको बताए ।
एमालेले बहुमत ल्याए मात्र देशमा राजनीतिक स्थायित्व र आर्थिक विकास हुन्छ भन्ने जनतामा भरोसा रहेकोले देश र जनतालाई निकास दिन अब आगामी निर्वाचनमा बहुमत ल्याउने गरि पार्टीले काम गर्ने राईको भनाई छ । पार्टीलाई मजुबुत र एकजुट बनाउन जिल्ला, पालिका, प्रदेश र स्थायी कमिटीका बैठकहरु अर्थपूर्ण रुपमा निरन्तर बस्ने नेता राईले बताए ।
एमाले कोशी प्रदेश इन्चार्ज समेत रहेका उनले पार्टी सुदृढीकरणको जुट्न जिल्ला कमिटीलाई निर्देशन समेत दिएका छन् । एमाले जिल्ला कमिटी ओखलढुंगाको बैठकमा प्रशिक्षण दिन राई ओखलढुंगा आएका हुन् । बिहीबार नै एमाले जिल्ला कमिटीको बैठक पनि बसेको छ ।
बैठकमा नेता राईसहित केन्द्र, प्रदेश, जिल्ला तहका नेताहरु सहभागी भएका थिए ।
प्रतिक्रिया