४५ लाख बढी अन्तःशुल्क संकलन

४५ लाख बढी अन्तःशुल्क संकलन


भिजन समाचार
477
Shares

ओखलढुङ्गामा अन्तःशुल्क संकलन वृद्धि भएको छ । अघिल्लो आर्थिक बर्ष भन्दा आर्थिक वर्ष २०८०÷०८१ मा दश लाख भन्दा बढी अन्तःशुल्क संकलन भएको हो ।
करदाता सेवा कार्यालय ओखलढुंगाले उपलब्ध गराएको विवरण अनुसार आर्थिक वर्ष २०७९÷०८० मा ३५ लाख एक हजार अन्तः शुल्क असुली भएकोमा आर्थिक वर्ष २०८०÷०८१ मा १० लाख तीन हजारले वृद्धि भएर ४५ लाख चार हजार अन्तः शुल्क संकलन भएको छ ।
अनिवार्य मदिरा विक्रि गर्ने किराना, मदिरा पसल र होटल व्यवसायीलाई ईजाजत पत्र लिएर मात्र मदिराको बेचबिखन गर्न पाउने व्यवस्था कढाईका साथ लागु गरेका कारण अन्तः शुल्क संकलन बढेको करदाता सेवा कार्यालय प्रमुख धिरेन्द्र बस्नेतले बताए । अन्य क्षेत्रको कर संकलन घटे पनि अन्तःशुल्क संकलन वृद्धि भएको बस्नेतको भनाई छ ।
हरेक वर्ष सरकारले स्वास्थ्यका लागि हानिकारक मानिने वस्तुहरुमा लगाउने करमा वृद्धि गर्ने गरेको छ । खपतमा भएको वृद्धि र करको दायरा बढ्दै जाँदा अन्तःशुल्क राजस्व समेत बढेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अन्तःशुल्क लाग्ने भनि कानुनले तोकेको वस्तु तथा सेवाको उत्पादन र आयात दुवै अवस्थामा तिर्नुपर्ने कर नै अन्तःशुल्क हो । यो कर उत्पादनकर्ता वा पैठारीकर्ताले ग्राहकबाट उपर गरी सरकारलाई बुझाउँछन् । सोही कारण यसको अन्तिम भार उपभोक्तालाई पर्दछ ।
जति धेरै यस्तो वस्तुको खपत भयो, सरकारले उत्ति धेरै कर प्राप्त गर्ने गर्दछ । यो कर विलासिताका वस्तु, मानव तथा पर्यावरणमा नकारात्मक असर पर्ने सुर्तीजन्य र मदिराजन्य वस्तुमा लगाउने गरिन्छ । यसको उद्देश्य कर बढाउने नभई यी वस्तुको उत्पादन, पैठारी र खपत कम होस् भन्ने नै रहेको कार्यालयले जनाएको छ ।