ओखलढुङ्गामा श्रीकृष्ण जन्माष्टमीमा भव्य रथ यात्रा

ओखलढुङ्गामा श्रीकृष्ण जन्माष्टमीमा भव्य रथ यात्रा


भिजन समाचार
1.6k
Shares

श्रीकृष्ण जन्माष्टमी अवसरमा ओखलढुङ्गामा भव्य कृष्ण रथ यात्रा र जात्रा निकालेर मनाईएको छ । जिल्ला सदरमुकाममा रहेका तीन वटा गुठीले छुट्टाछुट्टै कृष्णको रथ सहितको यात्रा निकालेर श्रीकृष्ण जन्माष्टमी मनाएका हुन् ।
सिद्धिचरण नगरपालिका–११ रमाईलोडाँडाको जनसेवा गुठी, वडा नं. ११ रामबजारको पारस्पारिक सहयोगी गुठी र सिद्धिचरण नगरपालिका–१२ गणेश टोलको जनहित सेवा गुठीले छुट्टाछुट्टै कृष्ण रथ यात्रा सहितको भव्य जात्रा निकालेका हुन् । जात्रामा राधा कृष्णको रुपमा स्थानिय कलाकारहरु सजिएका थिए ।
कृष्ण भजन गाउदै श्रद्धालुहरुले बजार परिक्रमा गरेका थिए भने स्थानिय कलाकारहरुले विभिन्न बजार तथा चोकमा नृत्य प्रस्तुत गरेका थिए । राधा कृष्णका विभिन्न चरित्र चित्रण गर्ने पहिरन सहित युवा, युवतीहरु बालबालिका जात्रामा सहभागी भएका थिए ।
गठेमंगल अर्थात घण्टाकर्ण पर्व देखी सुरु भएको विभिन्न जात्राहरु कृष्ण जन्माष्टमीको अवसरमा निकालिएको जात्रा सँगै समापन भएको जनहित सेवा गुठीका अध्यक्ष ध्रुब राजभण्डारीले बताए । करिब एक महिना सम्म गाईजात्रा, रोपाईं जात्रा, कृष्ण जन्माष्टमी जात्रालगायत विभिन्न जात्रा एवम् नाच देखाउने चलन रहेको राजभण्डारीको भनाई छ ।
ओखलढुङ्गाका सदरमुकामका नेवारी सामुदायका युवाहरु आफ्नो लाखे नाच लगायत संस्कृति र परम्परा जोगाउन जुटेका छन् । यस पटक तीन वटै बजारमा युवाहरुको सक्रियतामा परम्परागत जात्रा निकालिएको छ । सदरमुकाममा निकालिने जात्रा हेर्न गाउँ गाउँ बाट दर्शहरु आउने गर्दछन् ।