जिल्लाको चम्पादेवी गाउँपालिकाले गाउँ गाउँका जनतालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । गाउँपालिकाले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर गाउँ गाउँका जनतालाई स्वास्थ्य सेवा दिएको हो ।
पहिलो दिन वडा नं. १० रानीवनमा सञ्चालन भएको स्वास्थ्य शिविरमा १०२ जना र दोश्रो दिन वडा नं. ६ घोराखोरीमा सञ्चालन भएको शिविरमा १२५ जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका छन् । शिविर मार्फत दन्त रोगको उपचार, मानसिक स्वास्थ्य समस्या भएका बिरामीलाई परामर्श तथा औषधि वितरण र दिर्घरोगीहरुले नियमित सेवन गर्दै आएको औषधी वितरण गरिएको स्वास्थ्य शाखाका सिनियर अहेव ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
जंक फुड (पत्रुखाना) को सट्टामा बालकालिका र सबैले स्थानीय खानेकुरा खानुपर्ने लगायतका विषयमा नागरिकलाई स्वास्थ्य सचेतना दिईएको छ । पालिकाको सबै वडामा सञ्चालन हुने गरि घुम्ती स्वास्थ्य शिविर र सचेतानाको कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष नवराज केसीले बताए । नागरिकलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको अध्यक्ष केसीको भनाई छ ।
यसका साथै चम्पादेवी गाउँपालिकाले सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई झोला वितरण गरेको छ । पालिकाको सबै वडामा रहेका सामुदायिक महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई कार्य सम्पादनमा सहजताका लागि झोला वितरण गरिएको हो ।
गाउँपालिकाको विभिन्न वडामा रहनु भएका सम्पुर्ण ७७ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई उपयोगी झोला वितरण गरिने अहेव बस्नेतले जनाकारी दिए । घुम्ती शिविर सञ्चालनकै अवसरमा पालिकाको वडा नं.१० रानिवन बाट स्वयम् सेविकालाई झोला वितरण गर्न थालिएको छ ।
गाउँपालिका अध्यक्ष केसी, उपपाध्यक्ष दिलामाया मगर, प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी लगायतको उपस्थितिमा स्वास्थ्य शिविरको उद्घाटन गर्नुका साथै स्वयम् सेविकाहरुलाई झोला वितरण कार्यक्रमको पनि सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया