पहिरे खोलामा सडक मर्मतपछि ओखलढुंगा–रामपुर सडक सुचारु भएको छ । केही दिन अघि पहिरेको बाढीले सडक बगाएपछि ठप्प उक्त सडक मर्मतपछि सवारी आवागमन सुचारु भएको हो ।
पहिरे खोलामा बिग्रिएको सडक मोलुङ गाउँपालिकाले बनाएको छ । लगातारको वर्षापछि आएको बाढीले बगाएको सडक तारजालीसहितको वाल उठाएर बनाएसँगै दुईतर्फि रोकिएको सवारी आवागमन सुरु भएको मोलुङ गाउँपालिका अध्यक्ष उत्तम राईले बताए । मोलुङ गाउँपालिका २ मा पर्ने पहिरे खोलाले वर्षेनी वर्षाको समयमा सडक अवरुद्ध गर्दै आएको छ ।
विगतका वर्षहरुमा लेदोहिलोका कारण समस्या हुने गरेको भएपनि हिलो पन्छाएर सडक खुलाउने गरिन्थ्यो । यसवर्ष कटान गरेर सडकको नमुना नै नरहनेगरी खोलामा परिणत भएपनि समस्या उत्पन्न भएको थियो ।
मोलुङ गाउँपालिका अध्यक्ष राईले निर्वाचित भए लगत्तै पहिरेमा पक्कि पुल निर्माणका लागि पहल थालेका थिए । स्थानीय सरकारका तर्फबाट पहिरे पुलको योजना प्रदेश सरकारमा सिफारिस गरेका थिए । पालिकाको माग अनुसार बजेट विनियोजन भएको थियो । ठेक्का लाग्नुपर्ने समयमा बजेट काटिएपछि काम हुन सकेको छैन ।
प्रतिक्रिया