अविरल वर्षा सँगै ओखलढुंगाको विभिन्न स्थानमा गएको पहिरोले आठ घर परिवार विस्थापित भएका छन् । जिल्लाको मोलुङ गाउँपालिका–१ साउने गाउँ र वडा नं.२ को लिपेखोला नजिकैको गाउँमा गएको पहिरोले आठ घर परिवार विस्थापित भएका हुन् ।
मंगलबार राती परेको अविरल बर्षाका कारण जमिन भासिँदा साउनेका महेन्द्र विकको दुई तले कच्ची घर जोखिममा परेको छ । विक परिवार छोराको घरमा आश्रय लिएर बसेका छन् ।
ढुङ्गा माटो सहितको लेदो घरमा पस्दा लिपेखोलाका तारा बानिँया, भगवती कार्की र गिता कार्कीको परिवार विस्थापित भएका छन् । पाखा गाँउ बस्ने कान्ता कार्की, गणेश कार्की र नानीमैया कार्कीको परिवार पनि पहिरोका कारण विस्थापित भएका छन् ।
गहतेका बस्ने प्रेम कुमारी श्रेष्ठको घर पनि पहिरोको जोखिममा रहेको विवरण जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले उपलब्ध गराएको छ ।
यसै विच खिजीदेम्बा गाउँपालिकामा पहिरोले घरमा क्षति पुगेको छ । पहिरोले वडा नं. ८ रावादोलुकाका ५० बर्षीय बिष्णु बहादुर बस्नेतको घरमा क्षति पुरेको हो । बस्नेतको छोरा बस्दै आएका ढुंगा माटो जस्ताले बनेको दुई तले कच्ची घरमा पहिरोले पुरिएको खबर प्राप्त भएको ओखलढुंगा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कृष्ण खड्काले बताए । घरमा राखिएको एउटा खसी र एउटा बाख्रा पहिरोले पुरेको छ । घरको मान्छे काठमाण्डौमा बसोबास गर्ने गरेकाले मानविय क्षति नभएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
सुनकोशीमा नौ घर पहिरोको जोखिममा
सुनकोशी गाउँपालिकामा नौ घर पहिरोको जोखिममा परेका छन् । सुनकोशी गाउँपालिका–१ आम्बोटको नौ परिवार पहिरोको उच्च जोखिममा परेका हुन् । निरन्तरको अविरल वर्षाका कारण गाउँ भन्दा माथि रहेको आईतबारे पाखाको विभिन्न भागमा पहिरो गए पछी गाउँ पहिरोको उच्च जोखिममा परेको स्थानिय मदन कुमार राईले बताए ।
वर्षातको कारण आईतबारे पाखाको चार ठाउँमा पहिरो गएको राईले जानकारी दिए । गाउँ भन्दा माथि रहेको पाखामा धाजा फाटेको र निरन्तर पहिरो गईरहेको राईको भनाई छ । यसका साथै भुमेथान सालघारी आउजाउ गर्ने गोरेटो बाटो पहिरो सँगै भत्कीएको राईले जानकारी दिए । पाकेको मकै बाली भित्र्याउने र हिउँदे बाली लगाउने समय भएकाले बाटो अवरुद्ध हुदा स्थानियलाई समस्या भएको उनको भनाई छ ।
प्रतिक्रिया