आफ्नै छोराहरुलाई चरम यातना दिएको आरोपमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । खिजिदेम्बा गाउँपालिका–९ ओखलढुङ्गाका ४३ वर्षिय फुरिञ्जी शेर्पाले छोराहरुलाई चरम यातना दिएको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
शेर्पाले आफ्नै चार र छ वर्षिय छोरालाई अमानविय चरम यातना दिने गरेको स्थानियले बताएका छन् । गाउँ देखी एकान्तमा घर भएको शेर्पाले लामो समय देखी छोराहरुलाई यातना दिने गरेको रहस्य बाहिरिएको छ ।
शेर्पाले छोराहरुलाई कुटपिट गर्नुका साथै खर्कुडोमा हाली पानी सँगै उमाल्ने, डोरीले बाधेँर उधो मुन्टो पारेर झुण्ड्याउने गरेको भिडियो सार्वजनिक भएको छ । शेर्पाकी श्रीमती रोजगारीका लागि अहिले साईप्रसमा छिन् । नेपालमा हुँदा आफुलाई पनि कुटपिट र यातना दिने गरेको शेर्पाकी श्रीमती छोटी शेर्पाले बताईन् । आफुलाई रिस देखाउन छोराहरुलाई यातना दिएर भिडियो खिचेर पठाउने गरेको र मानसिक तनाव दिने गरेको साईप्रसबाट शेर्पाले बताईन् । शेर्पाले श्रीमान विरुद्ध कडा कारबाहिको माग गरेकी छिन् । शेर्पाका चार सन्तान मध्ये करिब नौ वर्ष देखी एउटा बच्चा वेपत्ता रहेको स्थानियले बताएका छन् ।
शेर्पाले छोराहरुलाई चरम यातना दिएको वडा अध्यक्ष ङवाङफुरी शेर्पाले पुष्टि गरेका छन् । वडाको समन्वयमा शेर्पालाई प्रहरीको जिम्मा लगाईएको र छोराहरुको उद्धार गरि स्वास्थ्य परिक्षण गराइएको वडा अध्यक्ष शेर्पाले जानकारी दिए । आफ्नै सन्तानलाई चरम यातना दिएको आरोपमा शेर्पालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय कार्कीले बताए । घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।
प्रतिक्रिया