ओखलढुंगाको ठुलाछापलाई फलफूलमा आत्मनिर्भर बनाउन वडाका कृषक तथा नागरिकहरुलाई बिरुवा वितरण गरिएको छ । डिभिजन वन कार्यालय ओखलढुंगाको सहयोग र सिद्धिचरण नगरपालिका–२ वडा कार्यालयको समन्वयमा एक सातासम्म बिरुवा वितरणको कार्यक्रम थालिएको हो ।
भू–संरक्षण दिवसको अवसर पारेर साताव्यापी बिरुवा वितरणको कार्यक्रम थालिएको वडा अध्यक्ष बसन्त कटवालले बताए । वडाका एक सय बढी कृषकलाई सुन्तला, कागती, एभोकाडो, लिची र आँप प्रजातिका २५ सय फलफूलका बिरुवा वितरण गरिने उनको भनाई छ ।
वडाका सबै कृषकलाई बिरुवा वितरण भइरहेको तर कृषिमा लाग्ने उद्वेश्यले शहर छाडेर स्थानीय गाउँ फर्किएको कार्की गाउँलाई फलफूलको पकेट क्षेत्र बनाउने लक्ष सहित बिरुवा वितरणको काम भइरहेको वडा अध्यक्ष कटवालले बताए ।
बिहीबार सुन्तला जातका बिरुवा वितरण गरिएको पनि उनले जानकारी दिएका छन् । ५० भन्दा बढी फलफूलका बिरुवा रोपेर व्यवसायीक फलफूल खेती गर्ने कृषकलाई पुरस्कार सहित वडाले प्रोत्साहन गर्ने वडा अध्यक्ष कटवालले प्रतिवद्धता जनाएका छन् ।
प्रतिक्रिया