भू–संरक्षण दिवस : पहिरो रोकथामका लागि ओखलढुंगामा वृक्षारोपण

भू–संरक्षण दिवस : पहिरो रोकथामका लागि ओखलढुंगामा वृक्षारोपण



ओखलढुंगामा पहिरो रोकथामका लागि वृक्षारोपण गरिएको छ । भू–तथा जलाधार व्यवस्थापन कार्यालयको आयोजनामा सिद्धिचरण नगरपालिका–१२ मा स्थित साल्मे खोरिया टोल माथिको पहिरोमा विभिन्न प्रजातिका चार सय बढी बिरुवा रोपिएको हो ।

‘जलवायु उत्थानशीलताको आधार, व्यवस्थित जलाधार’ भन्ने नाराका साथ मनाइएको भू–संरक्षण दिवस २०८१ को अवसरमा अमृसो, नेपिएर घाँस, निमारो, तेजपात, किम्बु र भेटिमर प्रजातिका ४२५ वटा बिरुवा रोपिएको कार्यालय प्रमुख टोप बहादुर श्रेष्ठले बताए ।

वृक्षरोपण कार्यक्रममा सहभागी हुँदै ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारारायण ढकालले जलवायु परिवर्तनको असरले बाढी पहिरो र भू–क्षयका घटना बर्षेनी अस्वभाविक रुपमा बढीरहेकोले यसको रोकथामका लागि सबै जुट्न आवश्यक रहेको बताए ।

कार्यक्रममा भू–तथा जलाधार व्यवस्थापन कार्यालय प्रमुख श्रेष्ठले अघिल्लो बर्ष गएको पहिरोले बस्तीमा क्षति पुगेको र त्यो स्थानको पहिरो रोकथाम गरि बस्ती जोगाउन कार्यालयले चार लाख बजेट विनियोजन गरेर तार जाली तथा छेकाबार लगाउने काम गरेको बताए ।

भू–क्षय रोक्न तथा जलाधार संरक्षणका लागि आम नागरिकमा सन्देश प्रवाह गर्न र पहिरो रोकथाम गरि बस्तीमा जोखिम कम गर्न दिवसको अवसर पारेर वृक्षारोपण गरिएको उनको भनाई छ ।

वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढलकाल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, स्थानीय नागरिक र सरोकारवालको सहभागीतामा रहेको थियो ।

गत बर्ष त्यस क्षेत्रमा गएको पहिरोले तीन घर भत्किदा एक करोड बढीको क्षति भएको थियो ।