ओखलढुंगामा घण्टाकर्ण अर्थात गठेमंगल पर्व मनाइयो, लाखेजात्रा सुरु

ओखलढुंगामा घण्टाकर्ण अर्थात गठेमंगल पर्व मनाइयो, लाखेजात्रा सुरु


भिजन समाचार
4.1k
Shares

हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमंगल अर्थात घण्टाकर्ण पर्व शुक्रबार ओखलढुंगामा मनाइयो । गठेमंगल अर्थात घण्टाकर्ण पर्व ओखलढुंगा सदरमुकामका नेवारी समुदायले सांस्कृतिक परम्परा अनुसार विशेषगरी मनाउने गर्दछन् ।
यस पर्वमा गठेमंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन रहेको छ ।
दोबाटो र चौबाटोमा दिनभर राखिने गठेमङ्गल बेलुकी जलाएर सेलाउने परम्परा रहेको जनहित गुठी ओखलढुंगा सिद्धिचरण नगरपालिका–१२ का अध्यक्ष ध्रुव कमार राजभण्डारीले बताए ।
पौराणिक कथनअनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रूप लिएर धाप भएतिर बाटो देखाइदिँदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको प्रतिमा बनाउने गरिन्छ । साँझ त्यसलाई जलाउने गरिन्छ । घण्टाकर्ण अर्थात् गठेमङ्गल पर्व मनाएसगै जिल्ला सदरमुकामा हिलेजात्रा अन्तर्गत लाखेजात्रा सुरुभएको छ ।

लाखे पर्वका अवसरमा एक महिनासम्म गाईजात्रा, रोपाईं जात्रा, कृष्णजन्माष्टमी जात्रालगायत विभिन्न जात्रा देखाउने चलन रहेको जनहित गुठि ओखलढुंगाका अध्यक्ष राजभण्डारीले बताए । ओखलढुंगाका नेवार सामुदायका युवा आफ्नो संस्कृति र परम्परा जोगाउन जुटेका छन् । तर पछिल्लो समय शिक्षा र रोजागारीको लागि युवा विदेश पलायन हुने क्रम बढेपछि यो परम्परालाई नियमितता दिन चुनौति रहेको उनको भनाई छ ।
लाखेजात्रा नेवार जातिको संस्कृति भए पनि सबै जातजातिमा लोकप्रिय छ । यो संस्कृति र परम्परा लोकप्रिय भएकै कारण परम्परा संरक्षणमा राई, लामा, ब्राह्मण, क्षेत्रीलगायतले साथ दिने गरेका छन् ।
ओखलढुंगा सदरमुकाममा जनहित गुठी गशेणटोल, पारस्पारिक सहयोगी गुठी रामबजार र जनसेवा गुठी रमाइलो डाँडाले लाखेजात्रा निकाल्ने गरेका छन् । लाखेजात्रा हेर्न बर्षेनी सैयौँको संख्यामा आन्तरिक र बाह्य पर्यटक जिल्ला सदरमुकाम आउने गरेका छन् ।
लाखेजात्राले पर्यटन प्रवद्र्धन र नेवारी संस्कृतिको जगेर्ना गर्न महत्वपुर्ण टेवा पुगेको राजभण्डारीले बताएका छन् ।