ओखलढुंगाबाट एक बर्षमा ३ लाख ६५ हजार क्युफिट बढी काठ निकासी

ओखलढुंगाबाट एक बर्षमा ३ लाख ६५ हजार क्युफिट बढी काठ निकासी


भिजन समाचार
583
Shares

ओखलढुंगामा एक वर्षको अवधि अर्थात् आर्थिक वर्ष २०८०-०८१ मा तीन लाख ६५ हजार क्युविक फिट बढी काठ निकासी भएको छ। डिभिजन वन कार्यालय ओखलढुंगाका अनुसार निजी वनबाट उक्त परिमाण बराबरको गोलिया काठ निकासी भएको हो ।
डिभिजन वन कार्यालयका सुचना अधिकारी कृष्णदेव यादवका अनुसार गत आ.व. ०८०-०८१ मा कुल तीन लाख ६५ हजार ९५३ क्युविक फिट काठ निकासी भएको छ । जिल्लाका विभिन्न निजी वन क्षेत्रबाट सो परिमाणको काठ निकासी वा स्थानान्तरण गर्न डिभिजन वन कार्यालयबाट इजाजत प्रदान भएको उनले जानकारी दिए ।


कार्यालयको तथ्यांक अनुसार दुई बर्षको तुलनामा काठ निकासी दोब्बरले वृद्धि भएको पाइएको छ । आव २०७९-०८० मा एक लाख ५४ हजार ९४३.३३ क्युविक फिट काठ निकासी भएको तथ्यांकमा उल्लेख छ ।
यसबिच गत आव ०८०-८१ मा गोलिया काठ निकासी गर्न इजाजत दिएबापत कुल एक करोड ९१ लाख आठ हजार ७९३ रुपियाँ राजस्व सङ्कलन भएको डिभिजन वन कार्यालय ओखलढुंगाले जनाएको छ।


निजी वनमा रहेको अधिकांश खयर, साल, उत्तिस, चिलाउनेजस्ता प्रजातिका काठ निकासी गर्ने गरिएको पनि वन कार्यालयले जनाएको छ।

यस्तै प्रदेश सेवा शुल्क कर वापत भने १४ लाख ३१ हजार ५४५ रुपैयाँ राजश्व संकलन भएको पनि कार्यालयले जनाएको छ ।