ओखलढुंगामा कर संकलन दर घट्यो

ओखलढुंगामा कर संकलन दर घट्यो



ओखलढुंगामा कर संकलन दर घटेको छ । करदाता सेवा कार्यालय ओखलढुंगाको तथ्यांक अनुसार जिल्लामा कर संकलनदर घटेको हो । जिल्लामा आर्थिक बर्ष २०७९÷०८० मा भन्दा गत आ.व. २०८०÷०८१ मा ३२ लाख ३५ हजारले कम राजश्व संकलन भएको कार्यालय प्रमुख धिरेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
उनका अनुसार आ.व २०७९÷०८० मा कुल ३२ करोड ३० लाख ३६ हजार राजश्व संकलन भएकोमा गत आ.व २०८०÷०८१ मा ३२ लाख ३५ हजारले कमी भई कुल ३१ करोड ९८ लाख एक हजार राजश्व संकलन भएको छ ।
कार्यालयलाई विभागले ४० करोड ४३ लाख ८७ हजार संकलन गर्ने बार्षिक लक्ष दिएकोमा ३१ करोड ९८ लाख एक हजार अर्थात ७९.०८ प्रतिशत मात्र राजश्व संकलन भएको कार्यालय प्रमुख बस्नेतले बताए ।
उनका अनुसार आयकर तर्फ गत आ.व २०८०÷०८१ मा २१ करोड ४३ लाख ५५ हजार, घर बहाल कर ७४ लाख, ब्याज कर १५ लाख ९० हजार राजश्व असुली भएको छ । यस्तै भ्याटकर नौं करोड १९ लाख ४८ हजार र अन्तः शुल्क कर ४५ लाख चार हजार असुली भएको छ ।
देशको आर्थिक अवस्थामा आएको मन्दी, व्यवसाय बन्द गरी विदेश पलायन हुने क्रम बढ्नु, भौगोलिक विकटताले गर्दा कर लागतमा वृद्धि हुनु यस्तै पछिल्लो समय सहकारी संस्थामा आएका समस्या लगायतका कारणले कर संकलनदरमा कमी आएको कार्यालय प्रमुख बस्नेतको भनाई छ ।
कर संकलनलाई वृद्धि गर्न करदातालाई सचेत गराउने तथा प्रोत्साहन गर्ने लगायतका काम भइरहेको कार्यालयले जनाएको छ । कार्यालयले अन्तः शुल्क दर्ता, कर चुक्ता, कारोबार थपघट, कारोबार बन्द लगायतका सेवा प्रदान गर्दै आएको छ । ओखलढुंगाको सबै पालिका र सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका बाहेकको सम्पुर्ण क्षेत्रलाई कार्यक्षेत्र बनाएर कार्यालयले सेवा प्रदान गरिरहेको छ ।