बढी ताैल भएका प्रहरीलाई खेलकुद र व्यायाममा खटाइने

बढी ताैल भएका प्रहरीलाई खेलकुद र व्यायाममा खटाइने



ओखलढुंगामा धेरै तौल र बढी माटाे प्रहरीलाई खेलकुद र व्यायाममा खटाइने भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले सोमबार बाट प्रहरी कर्मचारीहरुको बडि मास इन्डेक्स (बीएमआई) जाँच सुरु गरेको छ ।
प्रहरी सँधै चुस्त–दुरुस्त र चनाखो रहनुपर्ने भएकाले शारीरिक रुपमा तन्दुरुस्त रहनका लागि स्वास्थ्यकर्मीकाे सहभागीतामा उचाई अनुसार तौल रहे नरहेको र अन्य स्वास्थ्य जाँच पनि गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मनिष लुईटेलले जानकारी दिए ।
आइतबार र सोमबार जिल्ला प्रहरी कार्यालय ओखलढुंगा तथा मातहतका ईलाका प्रहरी कार्यालय, प्रहरी चौकी र प्रहरी बिटमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुको (बीएमआई) जाँच गरिएको उनले बताए ।
संगठनको कार्य प्रकृति अनुसार नै प्रहरी कर्मचारीहरु शारीरिक रुपमा तन्दुरुस्त हुन जरुरी रहेकोले यस किसिमको परिक्षणलाई आगामी दिनमा निरन्तरता दिइने उनको भनाई छ । चेकजाँचको क्रममा उचाई अनुसार तौल नभएको पाइएमा कम हुनेलाई पौष्टिक आहारमा जोड तथा बढी तौल हुनेलाई खेलकुद र व्यायाममा जोड दिइने प्रहरी निरीक्षक लुइटेलले बताए ।
(बीएमआई) व्यक्तिको तौल र उचाईको मापनबाट निश्चित अंक निकालिने वैज्ञानिक विधि हो । उक्त अंककै आधारमा कुनै पनि व्यक्तिको तौल सामान्य वा बढि वा घटी रहेको पत्ता लगाउन सकिन्छ । त्यस्तै (बीएमआई) ले सम्बन्धित व्यक्तिलाई कस्तो प्रकारको शारीरिक व्यायाम गर्ने तथा खानामा कस्तो आहारा समावेश गर्ने भन्ने कुरा समेत निर्देशन गर्दछ ।
आगामी दिनमा पनि बीएमआई चेकजाँच र स्वास्थ्य परिक्षणलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।