बुधबार बिहान भएको सौर्य एयरको जहाज दुर्घटनामा को–पाइलट ओखलढुंगाका सुशान्त कट्वालको ज्यान गएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ च्यानम घर भई काठमाण्डौमा बसोबास गर्दै आएका बुवा ओम बहादुर कटुवाल र आमा रन्जना कटुवालका एक्ला छोरा कट्वालको दुर्घटनामा ज्यान गएको हो ।
दक्षिण अफ्रिकाबाट पाइलट कोर्ष पुरा गरेका २७ बर्षीय कट्वाल विगत डेढ बर्ष देखि सौर्य एयरलान्समा को–पाइलटको रुपमा कार्यरत रहेका थिए ।
त्रिभुवन विमानस्थलबाट बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको एन–एएमई विमान भुइँ छाडेलगत्तै दुर्घटनामा परेको थियो । उड्ने बित्तिकै दाहिनेतिर मोडिन लाग्दा धावनमार्गको पूर्वतिर बजारिएको प्राधिकरणले जनाएको छ ।
जहाज दुर्घटनाबाट मृत्यु भएका ओखलढुंगाका कट्वालसहित १८ जनाको शवको पोस्टमार्टम सुरु भएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपाल चौधरीले मृत्यु भएकाको पोस्टमार्टम सुरु गरिसकेको जानकारी दिए ।
पोस्टमार्टमको लागि पाटन अस्पताल, भक्तपुर लगायत सबै ठाउँबाट फरेन्सिक विज्ञ बोलाइसकेको डा. चौधरीले बताएका छन् । सबै शवको पोस्टमार्टम गरेर रिपोर्ट तयार गरेर आफन्तलाई शव जिम्मा लगाउन तीन दिन समय लाग्न सक्ने उनले जानकारी दिएका छन् ।
प्रतिक्रिया