ओखलढुंगा प्रशासनद्धारा १ करोड ७४ लाख बढी राजस्व संकलन

ओखलढुंगा प्रशासनद्धारा १ करोड ७४ लाख बढी राजस्व संकलन


भिजन समाचार
371
Shares

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले एक करोड ७४ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक बर्ष २०८०-०८१ मा एक करोड ७४ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन गरेको हो ।

राहदानी शुल्क, न्यायिक दण्ड, जरिवाना, जफत शुल्क, कम्पनी संस्था रजिष्टे«शन नवीकरण लगायतको शिर्षकमा कार्यालयले उक्त राजश्व संकलन गरेको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले जानकारी दिए ।

यहि अवधिमा जिल्ला प्रशासन कार्यालयले नयाँ नेपाली नागरिकता प्रमाणपत्र चार हजार ७२२, नागरिकता प्रतिलिपि दुई हजार ८२०, नाबालक परिचयपत्र १०३ वटा वितरण गरेको प्रजिअ डा.ढकालले बताए । 

वैवाहिक अङ्गिकृत नागरिकता तीन, कर्मचारी परिवारको नाता तीन, गैह्र आवासिय नेपाली नागरिकता तीन जनालाई प्रदान गरिएको र तीन जनाले नागरिकता परित्याग गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

तीन हजार २५५ जनालाई राहदानी वितरण गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ । सेवाग्राही नागरिकको सहजताका लागि शनिबार बाहेक सार्वजनिक बिदाको दिनमा समेत सेवा प्रदान भइरहेको प्रशासनले जनाएको छ ।

नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा बिदाको दिन पनि प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।