अज्ञात समूहको आक्रमणबाट ओखलढुंगाको मानेभन्ज्याङमा एक पुरुष गम्भीर घाइते भएका छन् । जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–९ शिकापु बस्ने अन्दाजी ५० बर्षीय केशर प्रसाद बास्तोलालाई सोमबार मध्यराति अज्ञात समूहले धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएका हुन् ।
राति आफ्नै घरमा बसिरहेको समयमा आएका तीन जना अज्ञात व्यक्तिले घाँटी थिचेर घरबाट बाहिर लगि घाँटी, टाउको लगायत शरीरका विभिन्न भागमा घारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाई मोलुङ खोलामा फालेका हुन् ।
घाइते बनाएर खोलामा फाले पनि पौडीएर घरमा आई आफुमाथि तीन जनाले आक्रमण गरि घाइते बनाएको बताएका बास्तोला त्यसपछि अचेत भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पछि तत्काल गाउँपालिकाको एम्बुलेन्स मार्फत उद्धार गरि काठमाण्डौ रेफर गरिएको र हाल उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गर्ने तयारी भइरहेको मानेभन्ज्याङ गाउँपालिका–९ का वडा अध्यक्ष पूर्ण बहादुर मगरले जानकारी दिए ।
उनका अनुसार घाइतेको अवस्था तत्काल गम्भीर रहेको छ । यता प्रहरी पनि घटनास्थलर्फ गएर अनुसन्धान कार्य अघि बढाएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बिजय कार्कीले जानकारी दिए ।
चोरी लुटपाटवा अन्य के उद्धेश्यले कसले हमला गरेको हो भन्ने बिषयमा प्रहरीले अनुसन्धान थालेको छ । शिकापुमा परिवारसहित कृषि फार्म सञ्चालन गरेर बस्ने बास्तोला माथि मध्यरातमा आक्रमण भएको हो ।
प्रतिक्रिया