ओखलढुङ्गामा प्रहरीले दुई महिनाकाे शिशुको हत्या गरेको आरोपमा आमालाई पक्राउ गरेकाे छ । आफ्नै बच्चाकाे हत्या गरेको आरोपमा जिल्लाको सिद्धिचरण नगरपालिका-४ चार्खु बस्ने २६ वर्षिया दिप कुमारी राईलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी समक्षको बयानमा आरोपित राईले विषादी खुवाई हत्या गरी जंगलमा फालि दिएको स्वीकार गरेको बयान दिएकाे जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक बिजय कार्कीले बताए ।
आरोपित राईले जन्मेदेखि नै रोई राख्ने, दिक्क लगाउने गरेकोले हत्या गरेको भनि बयान दिएको प्रहरी निरिक्षक कार्कीकाे भनाइ छ । गत असार ३१ गते जिल्लाको चिशंखुगढी गाउँपालिका-८ बाघखोर स्थित जङ्गलमा करिब दुई महिनाको शिशु मृत अवस्थामा भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
अनुुुसन्धानका क्रममा मृतक शिशु सिद्धिचरण नगरपालिका-४ चार्खु बस्ने युवराज राई र उनकी श्रीमती २६ वर्षिया दिप कुमारी राईको छोरा हिमाल राई रहेको खुलेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
मृतक शिशुकी आमालाई प्रहरीले सोहि दिन प्रक्राउ गरि कानुनी प्रक्रिया अघि बढाएको थियो । घटनाका विषयमा थप अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ ।
प्रतिक्रिया