ओखलढुंगामा १ लाख २९ हजार बढी बिरुवा रोपियो

ओखलढुंगामा १ लाख २९ हजार बढी बिरुवा रोपियो



ओखलढुंगामा एक बर्षमा एक लाख २९ हजार बढी बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालय ओखलढुंगाका अनुसार जिल्लामा आर्थिक बर्ष २०८०÷०८१ मा एक बर्ष भित्र एक लाख २९ हजार ७१६ बिरुवा रोपिएको हो ।
कार्यालयले आफ्नो कार्य क्षेत्रका विभिन्न स्थानमा तेजपात, बडहर, सल्ला, लप्सी, आँप, लिची, केरा, कागती, टिमुर, दन्ते ओखर लगायतका बिरुवा रोपिएको डिभिजन वन कार्यालय ओखलढुंगाका सूचना अधिकारी कृष्णदेव यादवले जानकारी दिए ।
सूचना अधिकारी यादवका अनुसार सामदायिक वनमा तेजपात, बडहर, लप्सी, सल्ला प्रजातिका ११ हजार ६००, कबुलियति वनमा आँप, लिची र कागती प्रजातिका पाँच हजार ५०० बिरुवा रोपिएको छ ।
यस्तै सामुदायिक वनका उपभोक्ताहरुलाई जडिबुटी खेती विस्ताका लागि टिमुर प्रजातिका नौं हजार, कृषकहरुलाई दन्ते ओखर दुई हजार ६२६ बिरुवा वितरण गरिएको सूचना अधिकारी यादवले बताए ।
उनका अनुसार जिल्लाका कृषकलाई एक बर्षे ८० हजार र बहुबर्षे बिरुवा २० हजार वितरण भइरहेको छ । यस्तै कार्यालयले विद्यालय वातावरण सचेतना सहित विद्यालय सुधार कार्याक्रमका लागि जिल्लाका आठ वटा माध्यमिक विद्यालयहरुलाई ६५० बिरुवा र अन्य दुई वटा माविलाई ३४० बिरुवा वितरण गर्नुको साथै ५०÷५० हजार रुपैयाँ अनुदान समेत वितरण गरेको छ ।
अहिले पनि बिरुवा वितरण र वृक्षरोपाणको काम जारी रहेको डिभिजन वन कार्यालय ओखलढुंगाले जनाएको छ । कार्यालयले हरेक वर्ष वृक्षारोपणको लागी विरुवा उत्पादन गरि सामुदायिक वन उपभोक्ता समिति, समूह तथा व्यक्तिलाई वितरण गर्ने गरेको छ ।