एसईई मौका परीक्षाका लागि तीन परिक्षा केन्द्र निर्धारण

एसईई मौका परीक्षाका लागि तीन परिक्षा केन्द्र निर्धारण



ओखलढुंगामा माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षाका लागि तीन वटा परिक्षा केन्द्र तोकिएको छ । आगामी साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने परिक्षाका लागि जिल्लामा तीन परिक्षा केन्द्र निर्धारण गरिएको हो ।
जिल्ला परिक्षा समन्वय समिति ओखलढुंगाको मंगलबार बसेको बैठकले जिल्ला सदरमुकामका स्थित सगरमाथा जनता माध्यमिक विद्यालय, भगवति मावि मानेभन्ज्याङ र चण्डेश्वरी मावि रगनीलाई परिक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई ओखलढुंगाका प्रमुख भरत बहादुर भट्टराईले जानकारी दिए । यस्तै प्राविधिक धारतर्फका सबै विद्यालयका लागि भने परिक्षा केन्द्र सगरमाथा जनता माध्यमिक विद्यालयमा तोकिएको प्रमुख भट्टराईको भनाई छ ।
अघिल्लो बर्ष जिल्लाभरका विद्यार्थीका लागि ग्रेडवृद्धि परिक्षा केन्द्र सगरमाथा जनता माविलाई मात्रै तोकिएको थियो । एउटा मात्रै परिक्षा केन्द्र तोकिदा अपायक र असहज भएको भन्ने विद्यार्थी, अभिभावक र सरोकारवालाले गुनासोलाई मध्यनजर गर्दै तीन परिक्षा केन्द्र कायम गरिएको इकाई प्रमुख भट्टराईले बताए ।
एसईई परिक्षा २०८० मा सहभागी जिल्लाका एक हजार एक सय ८४ विद्यार्थी ‘नन् ग्रेडेड’ अर्थात अनुतिर्ण भएका छन् । उनीहरुले साउन १६ गतेसम्म परिक्षा फारम भरेर मौका परिक्षा दिन सक्नेछन् ।
इकाईका अनुसार २०८० को एसईई परिक्षामा साधारण धार र प्राविधिक धारतर्फ गरि दुई हजार चार सय ४४ जना विद्यार्थी मध्ये ११ सय ८४ विद्यार्थी फेल भएका थिए भने ५१.५५ प्रतिशत विद्यार्थी उतिर्ण भएका थिए ।
राष्ट्रिय परिक्षा बोर्डले मौका परीक्षाको तालिका पनि सार्वजनिक गरिसकेको छ । यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो । तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । त्यसपछि बोर्डले अर्को मिति तय गरेको हो ।