ओखलढुंगामा नाइरोबी फ्लाईको संक्रमण बढिरहेको छ । ‘नाइरोबी फ्लाई’ किराबाट निस्कने कडा एसिडबाट हुने संक्रामक रोग हो । जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरु र सामुदायिक आँखा केन्द्र ओखलढुंगामा यस्ता बिरामीको संख्या वृद्धि भएको पाईएको छ ।
नाइरोबी फ्लाईको कारणले मानिसमा पर्ने असर सँग मिल्दाजुल्दा लक्षण भएका बिरामीको संख्या बढिरहेको ओखलढुंगा सामुदायिक आँखा केन्द्रकी प्रमुख टिका राईले बताईन् । नाइरोबीका कारण छाला तथा शरीरका विभिन्न भाग, आँखा लगायत जोर्नीहरूमा घाउ हुने प्रमुख राईको भनाई छ ।
स्वास्थयकर्मीका अनुसार यो रोग किराको टोकाईबाट नभई शरीरको जुन ठाउँमा किरा थिचिन्छ त्यहीँ समस्या देखिन्छ । किरा बसेको भाग रातो हुने, पोल्ने, फोका उठ्ने, फुट्ने र थप संक्रमण हुने भएकाले बेलैमा जाँच गराई आवश्यक उपचार गराउन स्वास्थ्यकर्मीको सुझाव छ ।
यस बाट बच्न घरको झ्यालमा किरा नछिर्ने गरि जाली लगाउने, सुत्दा ओछ्यानमा किरा भए–नभएको राम्रोसँग हेर्ने, लुगा लगाउँदा पनि भित्र केही छ कि छैन भनेर टकटक्याएर मात्र लगाउनाले यसको जोखिमबाट बच्न सकिने स्वास्थ्यकर्मी बताउँछन् ।
बत्तीमा यस्ता किरा आउन सक्ने भएकोले बत्ती निभाएर सुत्ने, शरीरमा किरा देखियो भने थिच्ने र मार्न नहुने जानकारहरुको भनाई छ ।
नाइरोबी फ्लाईलाई केन्याली फ्लाई वा ड्र्यागन बगसमेत भन्ने गरिन्छ । पेडेरस एक्सिमियस र पेडेरस सबाइस नामक किराहरू सुन्तला र कालो रंगका हुन्छन् । उच्च वर्षा हुने क्षेत्रमा यो किरा बढी देखिने गर्छ ।
प्रतिक्रिया