प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई ओखलढुंगाले परियोजना क्षेत्र विस्तार गर्ने भएको छ । यसका साथै परियोजना सञ्चालन भएको क्षेत्रमा उत्पादिन कृषि उपजको ब्रान्डिङ र बजारीकरणमा समेत जोड दिने भएको छ । आर्थिक बर्ष २०८०÷०८१ मा सञ्चालित कार्यक्रमहरुको प्रगति समिक्षा र आगामी योजना निर्माणका लागि बसेको समन्वय बैठकमा यस्तो बताईएको हो ।
एकाईद्वारा सञ्चालित परियोजनाहरुबाट उत्पादित कृषि उपजलाई ब्रान्डिङ र बजारीकरण गर्ने योजना बनाएको एकाई प्रमुख डा.हेमचन्द्र कुमार जैसवारले बताए । एकाईको भौतिक तथा वित्तिय प्रगति पनि सार्वजनिक गरिएको छ । वित्तिय प्रगति विवरण अनुसार पुँजीगत तर्फ २४ लाख र चालु तर्फ चार करोड १५ लाख ३४ हजार रहेको प्रमुख डा. जैसवारले जानकारी दिए ।
बार्षिक खर्च तर्फ चालु र पुँजीगत तर्फ गरि तीन करोड ३० लाख ४७ हजार खर्च भएको थियो । जसमा पुँजीगत तर्फ २२ लाख ५५ हजार र चालु तर्फ तीन करोड ७ लाख ९२ हजार रहेको छ । एकाईका अनुसार पुँजीगत तर्फ वित्तिय प्रगति ९३.९५ प्रतिशत र चालु तर्फ ७४.१३ प्रतिशत गरि जम्मा ७५.२१ प्रतिशत रहेको छ ।
यस्तै ओखलढुंगा जिल्लामा सञ्चालित बाखा जोन र क्षेत्र विस्तारका लागि सुन्तला तथा अदुवा÷बेसार जोन क्षेत्र पनि सञ्चालन गर्ने योजना रहेको एकाई प्रमुख जैसवारले जानकारी दिए ।
बाख्रा जोन क्षेत्र मानेभन्ज्याङ्ग गाउँपालिका वडा नम्बर १ र ४, सुनकोशी गाउँपालिकाको ६ र ८, चम्पादेवीको ६,७,८,९ र १० यस्तै सिद्धिचरण नगरपालिकाको वडा नम्बर १,२ र ३ तथा चिशंखुगढीको १,३,४,५,६ र ८ मा विस्तार गर्ने योजना रहेको प्रमुख जैसवारले बताए ।
यस्तै सुन्तला जोन क्षेत्र चिशंखुगढी गाउँपालिका २ र ३ र सिद्धिचरण नगरपालिकाको ३ र ४ नम्बर वडामा विस्तार गर्ने एकाईको योजना रहेको बैठकमा जानकारी गराईएको छ । यस्तै अदुवा÷बेसार जोन क्षेत्र मोलुङ गाउँपालिका २ र चिशंखुगढीको २ र ३ नम्बर वडामा विस्तार गर्ने योजना रहेको छ ।
जिल्लाको लिखु गाउँपालिकाका सम्बन्धित वडाहरुबाट सिफारिस भएर आएका ठाउँमा बाख्रा जोन क्षेत्र सञ्चालन गर्ने निर्णय गरिएको एकाई प्रमुख जैसवारले जानकारी दिए ।
प्रतिक्रिया