विपद् प्रतिकार्य योजना बनाउँदै सिद्धिचरण नगरपालिका

विपद् प्रतिकार्य योजना बनाउँदै सिद्धिचरण नगरपालिका

सरोकारवालाबाट आएका सुझाव याेजनामा समेट्ने


भिजन समाचार
901
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले सरोकारवालाबाट आएका सुझावलाई समेटेर विपद् प्रतिकार्य योजना बनाउन थालेको छ । असार १२, १९ र २५ गते सरोकारवालासँग छलफल गरेर नगरपालिकाले विपद पूर्व तयारी तथा प्रतिकार्य योजनाका लागि सुझाव लिएको हो ।

नगरपालिकाको आयोजना र सहयोगी हातहरुको समूह (सहास) नेपाल लिफ्ट परियोजनाको समन्वयमा भएको गोष्ठीबाट अन्तिम मस्यौदा मंगलबार संकलन गरेको हो ।

सरोकारवालाले मस्यौदामा योजनालाई प्रभावकारी बनाउन तंथ्याकलाई पहिलो प्राथमिकता दिनुपर्ने, विपद पछिको प्रतिकार्य भन्दा विपद्का घटना नै हुन नदिनेतर्फ काम गर्नुपर्ने, सम्भावित विपद् आइपर्ने क्षेत्र र समाधानका उपाय सुझाएका छन् ।

विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८१ को अन्तिम मस्यौदा प्रस्तुति राय सङकलन तथा छलफल गोष्ठीको अन्तिम दिन मंगलबार नगरप्रमुख तेजेन्द्र खनालले नगरपालिकाले साधन र स्रोतले भ्याएसम्म विपद्को क्षेत्रमा काम गरेको बताए ।

विपदका समेकसम्म हुन नदिन र विपद आइपरेक बेला अलमल नहोस भनेर पूर्व तयारी तथा विपद पछिको प्रतिकार्यलाई प्रभावकारी बनाउन आम नागरिक, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि र सरोकारवालाको सुझाव लिइएको उनको भनाई छ ।

यस किसिमको छलफल र योजना निर्माणबाट भोलिका दिनमा विपद्को क्षेत्रमा काम गर्न सहजता आउने मेयर खनालले बताएका छन् ।

गोष्ठीमा कन्सल्टेन्ट निरज काफ्लेले विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि सहजीकरण गरेका थिए । जिल्लामा भएका विपद्का घटना, घटनाबाट भएका क्षति, राहत, उद्धार र प्रतिकार्यको अवस्था र आगामी दिनमा खेल्नुपर्ने भूमिका र कामको विषयमा पनि छलफल भएको सहास नेपालको लिफ्ट परियोजना अधिकृत देवेन्द्र लामा थिङले जानकारी दिए ।

कार्यक्रममा मेयर खनाल, उप–मेयर केदारबाबु बस्नेत, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, नगरपालिकाका सबै वडाका वडा अध्यक्ष, जनप्रतिनिधि, पत्रकार र सरोकारवालाको सहभागिता रहेको थियो ।