ओखलढुंगामा एकै दिन दुई सवारी दुर्घटना, चार जना घाइते

ओखलढुंगामा एकै दिन दुई सवारी दुर्घटना, चार जना घाइते


भिजन समाचार
23.3k
Shares

ओखलढुंगामा बिहिबार दुई वटा सवारी दुर्घटना भएका छन् । ओखलढुंगाको भुसुने जंगलमा भएको बोलेरो दुर्घटनामा दुई जना घाइते भएका छन् । सिद्धिचरण राजमार्ग अन्तरर्गत सिद्धिचरण नगरपालिका–८ जरंगेको भुसुने जङ्गलमा सोलुखुम्बुबाट काठमाण्डौ जाँदै गरेको स १ ज ५५६ नम्बरको डबल क्याप बोलेरोको एक्सल भाच्चिएर अनियन्त्रित भई भएको दुर्घटनामा दुई जना घाईते भएका हुन् ।
दुर्घटनामा सोलुखुम्बुको सोताङ गाउँपालिका–५ की ४२ बर्षीय रन्जिता खड्काको बायाँ हातको चार वटा औला चुडिएको छ भने रामेछापको गोकुलगंगा गाउँपालिका–५ का ३१ बर्षीय दिनेश थापाको बायाँ कुम र ढाडमा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । खड्कालाई थप उपचारका लागि काठमाण्डाै पठाउने तयारी भएकाे बताईएकाे छ ।
प्रहरी निरीक्षक कार्कीका अनुसार घाइतेलाई तत्काल उद्धार गरि उपचारको लागि ओखलढुंगा सामुदायिक अस्पताल पठाइएको छ । बोलेरो चालक बाग्लुङको ढोरपाटन नगरपालिका–७ स्थायी घर भएका २५ बर्षीय सहबहादुर वि.कलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरी निरीक्षक कार्कीले बताए । बोलेरोमा सवार चालक र अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
यसैबिच बिहिबार सिद्धिचरण नगरपालिका–११ सोबुरुमा भएको सवारी दुर्घटनामा दुई जना घाइते भएका छन् । ओखलढुंगा सामुदायिक अस्पताल देखी सदरमुकाम तर्फ आउदै गरेको प्र २–०१–००१ प ९७५० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट जादै गरेको बा.प्र ०१–०२६ च ०९३६ नम्बरको डबल क्याप बोलेरो एक आपसमा ठोक्किदा दुई जना घाईते भएका हुन् ।
दुर्घटनामा मोटरसाइकल चालक चिशंखुगढी गाउँपालिका–६ भदौरेका करिब ४० बर्षीय प्रकाश राई र सोही मोटरसाइकलमा करिब ५५ बर्षीय जगत बहादुर राई घाइते भएका हुन् । घाईते दुवै जनाको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
बोलेरो चालक, बोलेरो र मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धा भईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।