मुटुको चाल रोकिएका बिरामी बचाउन ओखलढुंगामा २५ प्रहरीलाई तालिम

मुटुको चाल रोकिएका बिरामी बचाउन ओखलढुंगामा २५ प्रहरीलाई तालिम



ओखलढुंगा प्रहरीलाई कार्डियो पल्मोनरी रिससिटेसन (सिपिआर) दिने सम्बन्धी तालिम दिइएको छ । मुटुको चाल रोकिएका बिरामीलाई पुनःसुरू गरेर पहिलाकै अवस्थामै ल्याउनको लागि गरिने आकस्मिक प्रक्रिया (सिपिआर)बारे तालिम प्रदान गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय ओखढुंगाको आयोजना तथा ओखलढुंगा सामुदायिक अस्पतालको सहयोगमा प्रहरी निरीक्षक मनिष लुईटेल सहित २५ जना प्रहरीलाई सैद्धान्तिक र प्रयोगात्मक रुपमा सिकाइएको छ ।

विभिन्न घटना तथा दुर्घटनामा प्रहरी सबैभन्दा पहिले घटनास्थलमा पुग्ने भएकाले (सिपिआर) दिएर ज्यान बचाउन सम्भव बिरामीको ज्यान जोगाउने उद्वेश्यले तालिम सञ्चालन गरिएको प्रहरी निरीक्षक लुईटेलले बताए ।

उनका अनुसार तालिममा सामुदायिक मिसन अस्पताल प्रमुख डा. रोशन खरेल, डा. अंकित श्रीवास्तव, डा. अन्वेद कोईराला र डा. आकृति कोईरालाले प्रहरीहरुलाई (सिपिआर) कस्तो अवस्थामा दिने, कसरी दिने र के कस्ता सावधानी अपनाउनुपर्छ भन्ने बिषयमा सिकाएका थिए ।

मुटुको मुख्य काम रगत पम्प गरेर शरीरमा रगत सञ्चालन गराउने हो । त्यो बन्द भएको अवस्थामा मुटुलाई फेरि सञ्चालन गराउन गरिने प्रक्रिया नै (सिपिआर) रहेको प्रशिक्षार्थीलाई सिकाउने क्रममा अस्पताल प्रमुख डा. खरेलले जानकारी गराएका थिए ।

कसैको मुटुको धड्कन बन्द भयो र उसले श्वास समेत फेरेको छैन भने त्यो अवस्थामा सावधानीपूर्वक (सिपिआर) दिनुपर्ने उनले बताए । बिरामी तथा घाइतेलाई उद्धार गरेर अस्पताल लानु अघि र स्वास्थ्यकर्मी आउनुपूर्व आपत्कालिन अवस्थामा (सिपिआर) दिएर बचाउन सक्ने अवस्थामा रहेका बिरामीलाई नयाँ जीवन दिन (सिपिआर) प्रभावकारी हुने उनको भनाई रहेको छ ।