ओखलढुंगाका स्थानीय तहले सवारी मर्मत र ईन्धनमा वार्षिक करोडौं खर्च गर्ने गरेका छन् । महालेखा परीक्षकको पछिल्लो प्रतिवेदन अनुसार जिल्लाका ८ स्थानीय तहले आर्थिक वर्ष २०७९-०८० को १ वर्षमा सवारी मर्मत र ईन्धन शिर्षकमा मात्रै ४ करोड ५७ लाख ३ हजार १ सय ८५ रुपैया खर्च गरेका हुन् ।
सवारी मर्मत र ईन्धनमा सबै भन्दा बढी खर्च खिजीदेम्बा र कम खर्च मोलुङमा भएको मलेपको प्रतिवेदनले देखाएको छ ।
खिजीदेम्बा गाउँपालिकाले सवारी मर्मतमा ५१ लाख १५ हजार ४ सय ८३ रुपैंया, सवारी भाडामा ६ लाख, ८१ हजार ५ सय रुपैंया र ईन्धनमा ३२ लाख, ३५ हजार ४ सय ७५ गरी जम्मा ९० लाख ३२ हजार ४ सय ५८ रुपैंया खर्च गरेको छ । खिजीदेम्बामा जनप्रतिनिधिहरुले कार्यालयबाट सवारी र इन्धन सुविधा लिएर पनि यातायात खर्च छुट्टै बुझेका छन् । यसरी दोहोरा सुविधा लिन नहुने भन्दै मलेपले प्रतिवेदन मार्फत सचेत गराएको छ ।
जिल्लाको एक मात्रै नगरपालिका सिद्धिचरण नगरपालिकाले १ वर्षमा सवारी मर्मत र ईन्धनमा ८६ लाख १६ हजार ६ सय ८३ रुपैंया खर्च गरेको छ । खर्चको मापदण्ड नबनाएको र लगबुक समेत अध्यावधिक नगरेको नगरपालिकाले ईन्धनमा ५१ लाख ९८ हजार ६ सय २५ रुपैंया र सवारी मर्मतमा ३४ लाख १८ हजार ५८ रुपैंया खर्च गरेको हो ।
लिखु गाउँपालिकाले गत आर्थिक वर्षमा सवारी मर्मतमा ३९ लाख, ७८ हजार २ सय ५८ रुपैंया र ईन्धनमा २७ लाख ११ हजार ४ सय १ रुपैंया गरी जम्मा ६६ लाख ८९ हजार ६ सय ५९ रुपैंया खर्च गरेको छ ।
चम्पादेवी गाउँपालिकाले सवारी भाडा शिर्षकमा जिल्लामै सबैभन्दा बढी २३ लाख २६ हजार खर्च गरेको छ । सवारी भाडामा २३ लाख २६ हजार, सवारी मर्मतमा २१ लाख ५२ हजार ४ सय ५३ रुपैंया र ईन्धनमा १८ लाख ६४ हजार, ९ सय ६ रुपैंया गरी सवारी भाडा, मर्मत र इन्धनमा जम्मा ६३ लाख ४३ हजार ३ सय ५९ रुपैंया खर्च गरेको छ । चम्पादेवीका जनप्रतिनिधिले सवारी साधन इन्धन र मर्मत खर्च लिएर पनि यातायात खर्च बुझेर दोहोरो सुविधा लिएको त्रुटी मलेपले प्रतिवेदनमा औल्याएको छ ।
सुनकोशी गाउँपालिकाले सवारी र ईन्धनमा ५६ लाख ६७ हजार ३ सय २१ रुपैंया खर्च गरेको छ । सवारी साधन भाडामा ७ लाख ६६ हजार २८ रुपैंया, ईन्धनमा २३ लाख, ८९ हजार ४ सय ९८ रुपैंया, सवारी मर्मतमा २३ लाख ११ हजार ७ सय ९५ रुपैंया ४० पैसा र नारी दिवसका दिन २ लाख गाडीभाडा भुक्तानी गरेको देखाएर जम्मा ५६ लाख ६७ हजार ३ सय २१ रुपैंया ४० पैसा खर्च देखाएको छ ।
मानेभञ्ज्याङ गाउँपालिकाले पनि सवारी मर्मत र ईन्धन आधा करोड खर्च गरेको छ । मानेभञ्ज्याङले सवारी मर्मतमा २८ लाख, ८२ हजार ५ रुपैंया र ईन्धनमा २१ लाख ४७ हजार ३ सय ५७ रुपैंया गरी जम्मा ५० लाख २९ हजार ३ सय ६२ रुपैंया खर्च गरेको हो ।
चिशंखुगढी गाउँपालिकाले १ वर्षमा सवारी मर्मत र ईन्धनमा ३९ लाख ६६ हजार ४ सय २३ रुपैंया खर्च गरेको छ । सवारी मर्मतमा १५ लाख ७९ हजार ८ सय ६१ रुपैंया र ईन्धनमा २३ लाख ८६ हजार ६ सय ७ रुपैंया खर्च गरेको हो ।
मलेपको रिपोर्ट अनुसार मोलुङ गाउँपालिकाले अघिल्लो वर्ष जिल्लामा सबैभन्दा कम सवारी र ईन्धनमा खर्च गरेको छ । मोलुङले ईन्धनमा १३ लाख ५६ हजार ५ सय ५ रुपैंया र सवारी साधन मर्मतमा २१ लाख ५१ हजार ४ सय १४ गरी जम्मा ३५ लाख ७ हजार ९ सय २० रुपैंया खर्च गरेको हो ।
ओखलढुंगाका स्थानीय तहले खर्चमा मितव्ययीता नअपनाएको र खर्चको मापदण्ड नबनाएको भन्दै महालेखाले प्रतिवेदनमा त्रुटि औल्याएको छ । आन्तरिक आय कम भएको जिल्लाका स्थानीय तहले आयस्रोत भन्दा बढी यसरी खर्च गर्नु नियमसंवत नहुने मलेपले जनाएको छ ।
मलेपकाे १ वर्षकाे प्रतिवेदनले मात्रै पनि जिल्लाका जनप्रतिनिधि सेवामुखी भन्दा सुविधाभाेगी भएकाे प्रमाणित गर्दछ । मन्दिका कारण देश संकटमा परेकाे र अनुदान कटिएकाे बहानामा विकास राेकिएपनि सेवा सुविधा र विलाशितामा हुने खर्च भने घटेकाे छैन ।

प्रतिक्रिया