विश्व वातावरण दिवसको अवसरमा ओखलढुंगामा वृक्षारोपण गरिएको छ । बुधबार ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नारासहित जिल्लाको सिद्धिचरण नगरपालिका–१२ मा स्थित लालीगुराँस इङ्लिस सेकेन्डरी स्कुलको परिसरमा विभिन्न जातका बिरुवा रोपिएको हो ।
डिभिजन वन कार्यालय ओखलढुंगा, भू–तथा जलाधार व्यवस्थापन कार्यालय र सामुदायिक वन उपभोक्ता समिति ओखलढुंगाको संयुक्त आयोजनामा ज्याकारान्डा, धुपी, कल्की फुल र कागतीका विरुवा रोपिएको डिभिजन वन कार्यालय ओखलढुंगाका निमित्त डिभिजन वन अधिकृत रितेष भूषण बस्नेतले जानकारी दिएका छन् ।
पृथ्वीलाई सदाकालका लागि मानव बस्न योग्य बनाइराख्न वावारण संरक्षण गर्नु सबैको दायित्व भएकोले सबै मिलेर एकअर्कामा प्रण गर्न र व्यवहारमा उर्तानका लागि दिवस मनाउने गरिएको उनको भनाई छ ।
जिल्लामा पनि बालबालिकालाई वातावरण संरक्षणमा जागरुक बनाएर उनीहरु मार्फत समुदायमा सचेतना फैलाउने उद्वेश्यले वृक्षरोपण र सचेतनाका कार्यक्रम गरिएको निमित्त डिभिजन वन अधिकृत बस्नेतले बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति उप–प्रमुख तारा कार्की, प्रमुख जिल्ला अधिकारी डा. नारायण प्रसाद ढकाल, सुरक्षा निकायका प्रमुख एवम् प्रतिनिधि, सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया