ओखलढुंगा उद्योग वाणिज्य संघको पाँचौ साधारण सभा तथा विधान अधिवेशन सुरु भएको छ । मंगलबार एक औपचारिक कार्यक्रमका बिच अधिवेशनको उद्घाटन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद ढकालले अधिवेशनको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले जिल्लाको विकासको लागि निजी क्षेत्रको पनि भूमिका महत्वपुर्ण रहेको बताए ।
सरकारले विकासमा निजी क्षेत्रसँग समन्वय गरेर अघि बढ्ने नीति लिएकोले जिल्लाको विकासको लागि हातेमालो गर्न जरुरी रहेको उल्लेख गरे । निजि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड रहेको उनको भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर उपप्रमुख केदारबाबु बस्नेतले संघले जिल्लाको आर्थिक समृद्धि र व्यवस्थित व्यवसाय सञ्चालनका लागि महत्त्वपूर्ण काम गरिरहेको बताए । आगामी दिनमा पनि थप प्रभावकारी काम गर्न उनले शुभकामना दिएका छन् ।
कार्यक्रममा संघका जिल्ला अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले आफ्नो नेतृत्वमा संघको भवन निर्माण देखि, कोरोना लगायतका महामारी र विभिन्न विपद्का बेला जिल्लामा सरोकारवाला निकायसँग सहकार्य गरेर विभिन्न काम भएको स्मरण गरेका थिए ।
अधिवेशन सफलताको शुभकामना दिँदै कार्यक्रममा सहभागी वक्ताहरुले उद्योग वाणिज्य संघको कामको प्रशंसा गरेका थिए । कोरोना महामारी लगायत विभिन्न समस्याका कारण हुन नसकेको संघको जिल्ला अधिवेशन ११ बर्ष पछि भइरहेको छ ।
कार्यक्रमकै अवसरमा जिल्लाका तीन वटा संस्थागत विद्यालयलाई सम्मान गरेको छ । व्यवसाय प्रर्वद्धनमा सहयोग पुयाएको भन्दै संघले लालिगुराँस इङलिस स्कुल, शुभलक्ष्मी इङलिस स्कुल र शुभतारा अंग्रेजी विद्यालयलाई सम्मान गरेको हो ।
प्रतिक्रिया