ओखलढुंगामा जातीय विभेद र छुवाछुत अन्त्यका लागि अन्तरक्रिया गरिएको छ । १८ औं जातीय विभेद तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा नेपाल दलित संघ जिल्ला कार्यसमिति ओखलढुंगाले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा सरोकारवालाले सामाजिक विकृतिको रुपमा रहेको छुवाछुत अन्त्यका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण प्रसाद ढकालले कानुनले छुवाछुत र भेदभावको अन्त्य गरिसकेको भए पनि व्यवहारबाट अझै अन्त्य नहुनु दुःखद रहेको बताए ।
विगतमा भन्दा पछिल्ला दिनमा समाज तीब्र रुपले परिवर्तन भइरहेकोले पुस्ता अनुसार विकृतिहरु हट्दै जाने भएपनि मान्छे मान्छे बिच हुने विभेदको अन्त्यका लागि सबै जुट्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी ढकालको बनाई छ ।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यासमिति ओखलढुंगाका सभापति तथा सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले दलित समुदायको उत्थानका लागि पार्टीले जागरण अभियान र नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय ओखलढुंगाका जिल्ला न्यायाधिवक्ता विस्वास सुनुवारले छुवाछुत सामाजिक अपराध भएकाले कसैले छुवाछुत तथा विभेद गर्न नहुने बताउँदै त्यस्तो गरेमा त्यो दण्डनीय कार्य रहेको बताए ।
कानुनले छुवाछुत गर्नेलाई कैद र जरिवानाको व्यवस्था गरेकोले आफु माथि जातका आधारमा भेदभाव वा अन्याय भएमा उजुरी गर्न न्यायाधिवक्ता सुनुवारले सुझाव दिएका छन् ।
कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, दलित नेता तथा सरोकारवालाले जातीय विभेदको जड नै जात व्यवस्था भएकाले त्यसको उन्मुलन नभएसम्म जातीय विभेद अन्त्य नहुने र त्यसका विरुद्ध प्रभावकारी अभियान चलाउनुपर्नेमा जोड दिएका छन् ।
अन्तरक्रिया कार्यक्रममा संघका जिल्ला अध्यक्ष होम बहादुर बिश्वकर्माले विभेद अन्त्यका लागि कानुन कार्यान्वयन नै पहिलो कदम हुने बताए । छुवाछुत अन्त्यका लागि सम्पूर्ण दलित समुदाय एकजुट हुनेपर्नेमा उनको जोड छ ।
प्रतिक्रिया