ओखलढुंगाको मोलुङमा ‘मेरो कित्ता अनलाईन प्रणाली सेवा’ सुरु

ओखलढुंगाको मोलुङमा ‘मेरो कित्ता अनलाईन प्रणाली सेवा’ सुरु



ओखलढुंगाको मोलुङ गाउँपालिकाले ‘मेरो कित्ता अनलाईन प्रणाली सेवा’ सुरु गरेको छ । अनलाई प्रणालीको सुरुवात भए सँगै नापी कार्यालयबाट प्राप्त गरिने नक्सा प्रिन्ट, फिल्ड बूक उतार, प्लट रजिष्टर प्रिन्ट लगायतका सेवा गाउँपालिकाबाटै प्राप्त हुने गाउँपालिका अध्यक्ष उत्तम राईले बताए ।
“यसअघि नक्सा हेर्न र प्रिन्ट गर्नकै लागि पनि सेवाग्राहीलाई नापी कार्यालय ओखलढुंगा सदरमुकाम धाउनुपर्ने बाध्यता थियो । अब भने पालिकाको नापी शाखाबाटै नागरिकले उक्त सेवा सहज रुपमा लिन सकिन्छ” गाउँपालिका अध्यक्ष राईको भनाई छ ।
गाउँपालिका बाट सेवा सुरु सँगै एक सय राजश्व, दश रुपैयाको टिकट शुल्क र आवश्यक कागजात बुझाएर नागरिकले सहज रुपमा शुलभ सेवा प्राप्त गर्ने छन् । जसले नक्सा सम्बन्धि विवरण हेर्न र प्रिन्टको लागि हजारौं खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको गाउँपालिका अध्यक्ष राईले बताए ।
सदरमुकाम पुगेर मात्रै प्राप्त गरिने सेवा गाउँपालिकाबाटै पाइने भएपछि पालिकाबासी उत्साहित भएका छन् ।