जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सस्तोमा डलर दिने प्रलोभनमा ठगी धन्दा गर्दै आएका तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले उक्त धन्दामा संलग्न सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का २४ वर्षीय श्याम तामाङ, सोही ठाउँका २६ वर्षीय तेन्जेन पाईन र २७ वर्षीय नारायण बहादुर पाईनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवम् प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार उनीहरुले इलामको इलाम नगरपालिका–१ का ४४ वर्षीय राजु गौतमलाई अमेरिकी डलर आफुहरुसँग भएको र सस्तोमा सटही गरिदिने भन्दै जेठ १३ गते दिउँसो गोलन्जोर गाउँपालिका–३ लौकुनमा बोलाएका थिए । त्यहाँ उनीहरुले डलर रुमालमा पोको पारी २० को नेपाली नोट र सादा कागजका टुक्राहरु दिई गौतमको साथमा रहेको १८ लाख रुपैयाँ नगद लिई तत्कालै फरार भएका थिए । आफू ठगिएको थाहा पाएपछि तत्कालै गौतमले प्रहरीमा खबर गरेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय खुर्कोट र अस्थायी प्रहरी पोष्ट हैवारवेसीको संयुक्त टोलीले खोजी गर्ने क्रममा गोलन्जोर गाउँपालिका–६ स्थित हैवारवेसी नजिकै लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको एसपी काफ्लले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट पीडितको लुटिएको १८ लाख रुपैयाँ सकुशल फेला पारेको छ । जसमा एक हजारको लक्ष्मी सनराइज बैंक लेखिएको नौं बन्डल, एक हजारको सिद्धार्थ बैंक लेखिएको दुई बन्डल र पाँच सयको सिद्धार्य बैंक लेखिएको १४ बन्डल बरामद भएको थियो । त्यस्तै उनीहरुको साथबाट एक हजार ३८० रुपैयाँ र २३७ अमेरिकी डलर बरामद भएको एसपी काफ्लेले जानकारी दिए ।
त्यसैगरी उनीहरुको साथबाट ३५० सीसीको बा.प्र. ०२–०४४ प ४३०९ नम्बरको बुलेक मोटरसाइकल, बा.प्र. ०२–०४५ प ६३०२ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल र पाँच थान विभिन्न कम्पनीको मोबाइल बरामद भएको छ ।
पक्राउ परेकाहरुलाई ठगी मुद्दामा आवश्यक कारबाही तथा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रतिक्रिया