उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले लक्ष्य भन्दा २६ प्रतिशत बढी मुद्दा फर्छ्याेट गरेको छ । अदालतले साउन देखि वैशाख मसान्तसम्म गरि दश महिनाको अवधिमा लक्ष्य भन्दा २६.४ प्रतिशत बढी मुद्दा फर्छ्याेट गरेको हो ।
दश महिनामा २३१ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएको भए पनि लक्ष्य भन्दा बढी २९२ थान मुद्दा फर्छ्याेट गरिएको अदालतका रजिष्ट्रार बिष्णु पाण्डेले जानकारी दिए । मंगलबार कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा रजिष्ट्रार पाण्डेले अदालतमा ३५८ थान मुद्दा रहेको बताए ।

जसमा १२० थान जिम्मेवारी सरेको र २३८ नयाँ दर्ता भएका छन् । उहाँका अनुसार सबैभन्दा बढी सरकारवादी फौजदारी मुद्दा २२३ थान, व्यक्तिवादी फौजदारी २२ थान, व्यक्तिवादी देवानी ५१, शुरु मुद्दा १० र रिट निवेदन ५२ थान रहेका छन् ।
अदालतले सार्वजनिक गरेको तथ्यांक अनुसार सरकारवादी फौजदारी मुद्दाहरु मध्ये जवरजस्ती करणी सम्बन्धी मुद्दा मात्र ९५ थान रहेका छन् । अहिले अदालतमा रहेका सबै मिसिल स्क्यान भएको रजिष्ट्रार पाण्डेले बताए । यसले सेवामा सहजता भएको उनको भनाई छ । अभिलेख दर्ता भएका ४ हजार १८१ थान मुद्दा मध्ये सबै मुद्दा सफ्टवेरमा इन्ट्री भएको अदालतले जनाएको छ ।
प्रतिक्रिया