कोशीमा साइबर अपराधविरुद्धको अभियान चलाउँदै प्रहरी

भिजन समाचार
36
Shares

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) चन्द्रकुवेर खापुङले साइबर अपराधविरुद्ध छुट्टै कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डिआइजी खापुङले समाजमा साइबर अपराधका घटना बढेको भन्दै सचेतनाका लागि कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।

डिआइजी खापुङले पछिल्लो समय देशमा साईबर क्राईम (विद्युतीय अपराध) सम्बन्धी घटना वृद्धि भइरहेको भन्दै सचेत रहन आग्रह गरेका छन् । अहिले बढ्दै गएको साइबर अपराधलाई मध्यनजर गर्दै आफूहरुले सचेतनाको कार्यक्रम गर्ने योजना बनाएको पनि उनले जानकारी दिए ।

समाजमा हुने यस किसिमका आपराधिक घटनामा कमि ल्याउन सबैले भूमिका खेल्नुपर्नेमा उनको जोड छ ।
साईबर क्राइमका घटनाहरु दिनानुदिन वृद्धि भईरहँदा कतिको सम्पत्ति सकिएको र घरबार विग्रिएकोले साईबर क्राईमका घटनाबाट जोगिन आफै सचेत हुनुपर्ने उनले बताए ।

अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरोकारवाला निकाय, पत्रकार, नागरिक समाज, महिला अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।