जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सडक र सवारी व्यवस्थापनका लागि विभिन्न आठ निर्णय गरेको छ । सोमबार राजमार्ग तथा सडक व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने समितिको बैठकले सवारी व्यवस्थापन, सहज आवागमन र दुर्घटना न्यूनीकरणका लागि विभिन्न आठ निर्णय गरेको हो ।
सोमबार जिल्लामा स्थित सबै सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि र सरोकारवाला सम्मिलित बैठकले उक्त निर्णयहरु गरेको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी तथा समिति संयोजक डा नारायण प्रसाद ढकालले जानकारी दिए ।
उनका अनुसार बैठकले राजमार्गले छोएका स्थानीय तहहरूले आ–आफ्नो क्षेत्रभित्र रहेका राजमार्ग, भित्रि सडकको विवरण, अद्यावधिक गर्ने र सडकलाई चालु अवस्थामा राख्न मर्मत सम्भार गर्ने गराउने साथै सडकमा अवरोध आएमा समयमै नजिकको सुरक्षा निकायहरूसँग समन्वय गरी अवरोध हटाउने निर्णय भएको छ ।
यस्तै सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी साधन आवागमनको नियमित चेकजाँचलाई प्रभावकारी बनाउने निर्णय भएको छ ।
यस्तै मनसुनको समय नजिक आएकोले पहिरो गई राजमार्गमा अवरोध हुन सक्ने संभावनालाई दृष्टिगत गरी अवरोध भएमा तत्कालै हटाई निर्वाध रुपमा सवारी आवागमन हुनसक्ने व्यवस्था मिलाउन सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्ने पनि निर्णय भएको उनले बताए ।
डिभिजन सडक कार्यालय, हर्कपुरले राजमार्गको नियमित निरिक्षण गर्ने र सडक विग्रिएमा वा मर्मत गर्नुपर्ने अवस्था देखिएमा मर्मत सम्भारको व्यवस्था मिलाउने साथै घुम्ती सडक पहिचान गरी आवश्यकता अनुसार मिरर राखे र सडक सचेतना बोर्ड राख डिभिजन सडक कार्यालय हर्कपुरले व्यवस्था मिलाउने निर्णय भएको छ ।
यस्तै सदरमुकाममा बिहान ९ बजे देखि १० बजेको समयमा अत्यावश्यक बाहेकका अन्य चारपाङ्ग्रे ठूला सवारी साधन बजार क्षेत्रमा सञ्चालनमा रोक लगाउने सो कार्यको लागि सिद्धिचरण नगरपालिका र ट्राफिक प्रहरीले आवश्यक काम गर्ने पनि निर्णय भएको छ ।
यस्तै बैठकले बसपार्कलाई पूर्ण रूपमा उपयोग गर्ने बजार क्षेत्रको पार्किङ तथा बजार व्यवस्थापनको लागि माईकिङ लगायत अन्य माध्यमबाट सचेतना तथा सूचनामूलक कार्यक्रम गर्ने गराउने, बजार क्षेत्रमा तोकिएका स्थानमा मात्र २ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने बिषयमा भएको पूर्व सहमतिलाई कडाईकासाथ पालना गर्ने गराउने साथै नगरपालिकाले सवारी साधन पार्किङको लागि थप स्थलहरुको पहिचान गरी व्यवस्था मिलाउने पनि निर्णय भएको प्रजिअ ढकालले जानकारी दिए ।
यस्तै सडक पेटीमा व्यापारिक सामाग्री, निर्माण सामाग्री लगायतका सामाग्रीहरु राखेर सडक अवरोध गर्ने कार्यलाई निरुत्साहित गर्ने निर्णय भएको छ ।
उनका अनुसार त्यस अघि नगरपालिकाले आवश्यक अनुगमन गरी माईकिङ तथा एफ।एम।रेडियो मार्फत् व्यवसायीलाई पूर्व सूचना दिने र मैत्रीपूर्ण रुपमा सम्झाउने पनि निर्णय भएको छ ।
बैठकले गरेका निर्णय आफु सहित सरोकारवालाले अक्षरस कार्यान्वयन गर्ने सहमति र प्रतिवद्धता भएको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया