ककनी गाैरीवन सहकारीका सञ्चालक धरौटीमा रिहा

ककनी गाैरीवन सहकारीका सञ्चालक धरौटीमा रिहा


भिजन समाचार
1.2k
Shares


ककनी गाैरीवन कृषि सहकारी संस्था लिमिटेडका सञ्चालकहरु धरौटीमा रिहा भएका छन् । बचतकर्ताहरुको रकम ठगी गरेको आरोपमा पक्राउ परेका सहकारीका सञ्चालकहरु धरौटीमा रिहा भएका हुन् ।
बचतकर्ताको रकम ठगी गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक मध्येका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र प्रबन्धकलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई ओखलढुंगा जिल्ला अदालतले धरौटीमा छोड्ने आदेश गरे अनुसार सहकारीकी कोषाध्यक्ष लिखु गाउँपालिका–९ की पेमडाेमा शेर्पा साेमबार रिहा भएकी छिन् ।

१५ लाख धराैटी रकम बुझाएर शेर्पा तारेखमा रिहा भएकी हुन् । अदालतले तोकेको समयमा धरौटी बुझाउन नसक्दा शेर्पालाई एक दिन कारागार पठाईएको थियाे श्रेस्तेदार विनाेद प्रसाद घिमिरेले बताए । यस अघि सहरकारीका अन्य चार जना सञ्चालक धराैटीमा रिहा भइसकेकाे श्रेस्तेदार घिमिरेले जानकारी दिए ।

जिल्लाको चम्पादेवी गाउँपालिका–९ विलन्दु स्थायी घर भएका सहकारीका अध्यक्ष विनोद सुनुवार, मोलुङ गाउँपालिका–४ हर्कपुरका उपाध्यक्ष पदम बहादुर खत्री, सचिव पाँचथर जिल्ला साबिक इङबुङ गाविस–१ हाल सिद्धिचरण नगरपालिका–१२ भैरबटोल बस्ने नेत्रबहादुर नेम्वाङ र प्रबन्धक मानेभञ्ज्याङ गाउँपालिका–९ का धनबहादुर मगरलाई अदालतले धरौटीमा छोड्न आदेश गरेको थियाे ।
अध्यक्ष सुनुवारबाट १० लाख, उपाध्यक्ष खत्रिबाट तीन लाख, सचिव नेम्वाङबाट १० लाख र प्रबन्धक मगरबाट पाँच लाख धरौटी रकम असुल गरेर उनीहरुलाई तारेखमा रिहा गरिएको श्रेस्तोदार घिमिरेले जानकारी दिए ।
सहकारीका ११४ जना बचतकर्ताले सञ्चालक विरुद्ध ५५ लाख ८४ हजार ७६० रुपैयाँ बचत रकम ठगी भएको आरोप लगाई प्रहरीमा जाहेरी दिएका थिए । सहकारीका अन्य सञ्चालकहरु फरार छन् ।