ओखलढुंगामा पछिल्लो नौ महिनाको अवधिमा ७७ वटा नयाँ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्ष २०८०-८१ को साउन देखि चैत मसान्तसम्ममा विभिन्न उद्देश्यका उक्त सङ्ख्यामा नयाँ उद्योग दर्ता भएका हुन् ।
नयाँ दर्ता भएकासमेत गरि उद्योगको कुल सङ्ख्या दुई हजार आठ सय ४१ पुगेको घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाका प्रमुख जितेन्द्र राईले जानकारी दिएका छन् ।
उनका अनुसार चालू आ.वको साउनदेखि चैत मसान्तसम्ममा सबैभन्दा बढी कृषि तथा वन पैदावारमा आधारित उद्योग दर्ता भएका छन् ।
कृषि तथा वन पैदावारसम्बन्धी ३३ वटा नयाँ उद्योग दर्ता भएको उनले बताए । त्यसपछि पर्यटनसम्बन्धी १३, सेवामुलक २४ र उत्पादनमूलक सात वटा उद्योग दर्ता भएको कार्यालय प्रमुख राईले जानकारी दिए ।
त्यस्तै चालू आवको चैत मसान्तसम्म एक सय ११ वटा उद्योगको नवीकरण भएकोे छ । एउटा उद्योगको नामसारी, छ वटा उद्योगको पुँजी वृद्धि र १३ वटा खारेजी भएको पनि कार्यालयले जनाएको छ ।
यस्तै वाणिज्य प्रशासनतर्फका ३७ वटा उद्योग (फर्म) दर्ता भएका छन् । नयाँ दर्ता समेत गरि वाणिज्यतर्फ उद्योगको संख्या एक हजार ५४२ पुगेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार वाणिज्यतर्फ एक सय ४० वटा नवीकरण, सात वटाको पुँजी वृद्धि, एउटा नामसारी र सात वटा खोरेजी भएका छन् ।
प्रतिक्रिया