जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले एक करोड ४३ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक बर्ष २०८०/०८१ को साउनदेखि चैत्र मसान्त सम्म नौ महिनाको अवधिमा एक करोड ४३ लाख २७ हजार ५९० रुपैया राजश्व संकलन गरेको हो ।
राहदानी शुल्क, न्यायिक दण्ड, जरिवाना, जफत शुल्क, कम्पनी संस्था रजिष्टे«शन नवीकरण लगायतको शिर्षकमा कार्यालयले उक्त राजश्व संकलन गरेको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी डा. नारायण प्रसाद ढकालले बताए ।
यहि अवधिमा जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकता प्रमाणपत्र तीन हजार २४२, नागरिकता प्रतिलिपि दुई हजार १५८, नाबालक परिचयपत्र ८१ वटा वितरण गरेको प्रजिअ डा.ढकालले जानकारी दिए । यस्तै वैवाहिक अङ्गिकृत नागरिकता दुई, कर्मचारी परिवारको नाता एक, गैह्र आवासिय नेपाली नागरिकता दुई जनालाई प्रदान गरिएको र एक जनाले नागरिकता परित्याग गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
यस्तै दुई हजार ७१५ जनालाई राहदानी वितरण गरिएको जिल्ला प्रशारन कार्यालय ओखलढुंगाले जनाएको छ । सेवाग्राही नागरिकको सहजताका लागि शनिबार बाहेक सार्वजनिक बिदाको दिनमा समेत सेवा प्रदान भइरहेको प्रशासनले जनाएको छ । नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धि सेवा बिदाको दिन पनि प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया