महिलाहरुलाई उद्यमी र स्वरोजगार बनाउने उद्देश्यले मुडा बनाउने तालिम दिईएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–१ बलखुका २० जना महिलाहरुलाई जीविकोपार्जनमा सहजता ल्याउन साथै स्वरोजगार बनाउन १५ दिने मुडा बनाउने तालिम दिईएको हो ।
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुंगाको वित्तिय सहयोग, दुधकोशी टेक्निकल एण्ड कन्सलटेन्सि प्रा.ली सुनसरी धरानको प्राविधिक सहयोग र प्रतिभावान प्रगतिशिल युवा क्लव सुनकोशी–१ को समन्वयमा तालिम सञ्चालन भएको क्लवका अध्यक्ष हविन्द्र राईले बताए । तालिममा सिकेको सीपलाई व्यवहारमा उतारी व्यसायी र स्वरोजगार बन्न दुधकोशी टेक्निकल एण्ड कन्सलटेन्सि प्रा.ली सुनसरी धरानका अध्यक्ष जेटबहादुर राईले सहभागीहरुलाई सुझाव दिएका छन् ।
तालिममा सहभागि भएका महिलाहरुले व्यवसायिक रुपले निरन्तर मुडा उत्पादन गरे त्यसको बजारीकरणको व्यवस्था वडा कार्यालयले गर्ने सुनकोशी गाउँपालिका–१ का वडाअध्यक्ष प्रकाश सापकोटाले बताए । निरन्तर व्यवसायिक रुपले मुडा बनाउने महिलालाई आवश्यक सामाग्री साथै बजारीकरणको सहयोग वडा कार्यालय मार्फत गरिने वडा अध्यक्ष सापकोटाको भनाई छ । १५ दिन सम्म तालिममा सिकेको सीपलाई व्यवहारमा उतारी व्यवसाय सञ्चालन गर्ने योजना रहेको सहभागिहरुले बताएका छन् ।
प्रतिक्रिया