ओखलढुंगाको नलिडाँडामा निःशुल्क पशु स्वास्थ्य शिविर राखेर कृषकका पशुबस्तुको उपचार गरिएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका–६ नलीडाँडामा सञ्चालन गरिएको शिविरमा आठ सय बढी पशुको उपचार गरिएको हो ।
सिद्धिचरण नगरपालिकाको प्राविधिक सहयोग, वडा कार्यालयको सहकार्य र सहयोगी हातहरुको समूह सहास नेपालको लिफ्ट परियोजनाको संयुक्त आयोजनामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर राखेर कृषकका पशु वस्तुको निःशुल्क चेकजाँच, उपचार तथा औषधि वितरण गरिएको वडा अधयक्ष मेख बहादुर मगरले जानकारी दिए । उनका अनुसार शिविर मार्फत ४३ घरधुरीका किसानले सेवा लिएका छन् ।
शिविरमा गाई, गोरु, भैँसी, चौँरी ३४५ वटा, बाख्रा, खसी, बोका २५७ वटा र कुखुरा २१४ वटाको उपचार गरिएको थियो । यस्तै पशु बन्ध्याकरण र किसानलाई परामर्श समेत प्रदान गरिएको सहास नेपालको लिफ्ट परियोजनाका अधिकृत देवेन्द्र लामाले जानकारी दिए ।
वडा भित्रमा सबैभन्दा बढी पशुपालन गर्ने क्षेत्र छनोट गरी ग्रामीण भेगका विपन्न किसानहरुलाई गाउँमै निःशुल्क सेवा प्रभावकारी रुपमा प्रदान गरेकोमा सहास नेपाल र पशु सेवा शाखाको कामको वडा अध्यक्ष बहादुर मगरले प्रसंशा गरेका छन् ।
यस्तै नगरपालिकाको पशु सेवा शाखा प्रमुख कृष्ण बहादुर कार्कीले शाखाबाट प्रदान गरिने सेवालाई अझै प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका छन् । गाउँमै पशुको निःशुल्क उपचार गराउन पाउँदा नलीडाँडाका कृषक हर्षित भएका छन् ।
प्रतिक्रिया