ओखलढुङ्गामा आगाेले छ घर जल्यो

ओखलढुङ्गामा आगाेले छ घर जल्यो


भिजन समाचार
3.2k
Shares

शनिबार दिउसो सुनकोशी गाउँपालिका–३ सिस्नेरीको ७८ वर्षिय नरनाथ तिमल्सीनाको घरमा आगलागी भयो । गाउँ नजिकैको डाँडागाउ सल्लेरी सामुदायिक वनमा लागेको आगो वस्ती पस्दा तिमल्सीनाको घर जलेको हो । ढुङ्गा माटोले बनेको एक तले कच्चीघर जली नष्ट हुँदा करिब एक लाख बराबरको क्षतीभएको प्रहरीले अनुमान गरेको छ ।
यस सँगै ओखलढुङ्गामा चार दिनको अवधीमा छ घरमा आगलागी भएको छ । चार दिन अघि मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीमा पनि जङ्गलमा लागेको आगो गाउँ पस्दा तीन वटा घर जलेका छन् । मोलीका ४५ वर्षिय मिन बहादुर कट्वालको ढुङ्गा माटोले बनेको फुसको छानो भएको दुई वटा एक तले घर, सोही ठाउँका अन्दाजी ५० वर्षका हरी बस्नेतको ढुङ्गा माटोले बनेको फुसको छानो भएको एउटा एक तले घरमा आगलागी भएको थियो । गाउँ नजिकैको सामुदायिक वन र स्थानियको खर पाखाबाट आगो गाउँ पसेको थियो ।
यसका साथै जिल्लाको चिशंखुगढी गाउँपालिका–७ को खानिगाँउका शेषराज दाहालको ढुङ्गामाटोले बनेको टिनको छानो भएको दुई तले घरमा आगलागी भई घर पुर्ण रुपले जलेर नष्ट भएको छ । दाहालको घरभित्र रहेको नगद एक लाख, सुनका गरगहना, अन्नपात, भाँडाबर्तन, लत्ताकपडा,फर्निचर समेत गरी करिब ११ लाख ९८ हजार ७०० क्षती भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरिक्षक बालिस्टार सिंहले बताए ।
प्रहरी निरिक्षक सिंहका अनुसार शुक्रबार मोलुङ गाउँपालिका–२ बरुणेश्वर रामपुर तल्लोटार अष्ट बहादुर सार्कीको घरमा आगलागी हुँदा करिब चार लाख बराबरको क्षती भएको छ । काठ, बाँसको टाटीको बेरा, त्रिपाल र चित्राले बनोको घर जल्दा घरमा रहेको नदग पाँच हजार रुपैयाँ, अन्नपात, लत्ताकपडा, भाडा वर्तन पुर्ण रुपले जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सोही अवधीमा जिल्लाको छ स्थानको वन जङ्गलमा डढेलो लागेको छ ।
सुनकोशी गाउँपालिका–३ को डाँडागाउ सल्लेरी सामुदायिक वनमा, चिशङ्खुगढी गाउँपालिका–१ सिसाखानी सामुदायिक वन, कालिपोखरी सामुदायिक वन, सोही गाउँपालिकाको वडा नं.५ शेर्नाका भोगेन्द्र सिंह थापाको निजी खरबारी, सिद्धिचरण नगरपालिका–४ को बान्द्रे सामुदायिक वन र खिजिदेम्बा गाउँपालिका–४ को फोती सामुदायिक वनमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । सुख्खा मौसम सँगै वन जङ्गल तथा घर वस्तीमा आगलागीको घटना बढ्न थालेकाले सावधानी अपनाउन जिल्ला विपद् व्यवस्थापन समितिले अनुरोध गरेको छ ।