ओखलढुंगामा सुशासन कायम गर्न प्रभावकारी काम गरिएको तत्कालिन प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए । आफ्नो कार्यकालमा शान्ति सुरक्षा मजबुत बनाउनका साथै जिल्लामा सुशासन कायम गर्न प्रभावकारी काम गरिएको प्रजिअ बरालको भनाई छ ।
ओखलढुंगामा सात महिना प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहँदा सुशासन कायम, जनमैत्री सेवा प्रवाह, आपराधिक घटना तथा दुर्घटना न्यूनीकरण, विकास निर्माणका कामलाई अघि बढाउन अनुगमन, सरकारी कार्यालयहरुलाई गुनासोरहित बनाउने सवालमा अपेक्षाकृत काम भएको प्रजिअ बरालले बताए ।
यसका साथै जनमैत्री सेवा प्रवाहका लागि सरकारी कार्यालयहरुको छड्के अनुगमन, निरीक्षण र निर्देशन दिने लगायतका काम गर्दा आफ्नो कार्यकालमा गुनासो रहित सेवा प्रवाहमा सहयोग पुगेको उनले दाबी गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी बरालले आफ्नो कार्यकालमा दशैँ, तिहार लगायतका चाडपर्वहरु रहेकोमा सुरक्षा योजना बनाएर लागु गर्दा ति चाडपर्वहरुमा अप्रिय घटना दुर्घटना नभएको दावी गरे ।
तत्कालिन प्रमुख जिल्ला अधिकारी बरालको मोरङ कारागारमा सरुवा भएको छ । ओखलढुंगाको प्रमुख जिल्ला अधिकारीको रुपमा गृह मन्त्रालयबाट नारायण ढकाल आएका छन् ।
प्रतिक्रिया