महिलालाई आत्मनिर्भर बनाउन कटाई–सिलाई तालिम प्रदान

महिलालाई आत्मनिर्भर बनाउन कटाई–सिलाई तालिम प्रदान



ओखलढुंगाको सदरमुकामका १५ जना महिलाहरुलाई आत्मनिर्भर बनाउन तीन महिने कटाई–सिलाई तालिम दिइएको छ । व्यावसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुंगा र सिद्धिचरण नगरपालिका–१२, वडा कार्यालयको संयुक्त आयोजनामा १५ जना महिलालाई व्यवसायिक तालिम दिइएको हो ।
महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले तालिम प्रदान गरिएको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका सूचना अधिकारी भविन्द्र कुमार खत्रीले बताए । समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका खत्रीले सिकेको सीपलाई व्यवहारमा लागू गर्न र व्यवसायिक बन्न सहभागीहरुलाई आग्रह गरेका छन् । आधारभूत तालिम लिएका सबैलाई ४५ दिने अपग्रेडिङ तालिम प्रदान गरिने उनले जानकारी गराए ।
कार्यक्रममा सिद्धिचरण नगरपालिका १२ का वडा अध्यक्ष उमङ्ग श्रेष्ठले तालिका सहभागीहरुलाई व्यवसायी बन्न सहज होस भनेर वडा कार्यालयले आगामी दिनमा प्रविधी हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका छन् । आगामी आर्थिक वर्षको बजेटमा सीपमुलक तालिम प्रदान गरिने र आवश्यक उपकरण प्रदान गर्न बजेट विनियोजन गर्ने प्रतिवद्धता वडा अध्यक्ष श्रेष्ठले जनाएका छन् ।
सहभागीहरुलाई १२ प्रकारका कपडाको डिजाईन बनाउन सिकाइएको प्रशिक्षक कोपिला श्रेष्ठले बताइन् । आगामी वैशाखमा १० अहिले तालिम लिएका १५ जनालाई अपग्रेडिङ तालिम दिइने व्यवसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुंगाले जनाएको छ ।