सुरक्षा निकायलाई अग्नी नियन्त्रक सामाग्री उपलब्ध

सुरक्षा निकायलाई अग्नी नियन्त्रक सामाग्री उपलब्ध



डिभिजन वन कार्यालय ओखलढुङ्गाले सुरक्षा निकायलाई आगलागी नियन्त्रण गर्ने सामाग्री व्यवस्था गरेकाे छ । सुख्खा मौसम सुरु भए सँगै आगलागीका घटना हुन थालेकाले आगलागी नियन्त्रणका लागि खट्ने सुरक्षा निकायलाई अग्नी नियन्त्रक सामाग्री व्यवस्था गरिएको हो ।
नेपाली सेनाको दुर्गा बक्स गण, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल आश्रित गुल्म ओखलढुङ्गालाई अग्नी नियन्त्रक सामाग्री हस्तान्तरण गरिएको छ । तीन वटै सुरक्षा निकायलाई आगो निभाउन आवश्यक फायर रेक १२ थान, फायर स्वाटर १२ थान, पञ्जा १० थान, सावेल तीन थान र प्रनिङस्व दुई थानका दरले प्रदान गरिएको डिभिजन वन कार्यालय ओखलढुङ्गाका निमित्त कार्यालय प्रमुख बद्री प्रसाद पौडेलले बताए ।
वन जङ्गल तथा मानव वस्तीमा आगलागी भए धनजनको क्षतिलाई न्युनिकरण गर्ने उद्धेश्यले उक्त सामाग्रीहरु प्रदान गरिएको पौडेलको भनाई छ । यसका साथै जिल्ला विपद् व्यवस्थापन समितिलाई पनि एक–एक थान पावर चेनस्व र प्रो डिस्कस्व उपलब्ध गरिएको छ ।
अग्नी नियन्त्रक सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक चेतराज बरालले वन डढेलो नियन्त्रण गर्न सुरक्षा निकायसँगै सरकारी, गैरसरकारी निकाय तथा स्थानीय तह र आम नागरिक एकजुट हुनुपर्ने बताए । धेरैजसो आगलागीका घटना मानवीय लापरबाहीका कारण हुने भएकाले आम नागरिक पनि यसबारे सचेत हुनुपर्ने प्रमुख जिल्ला अधिकरी बरालको भनाई छ ।
सुख्खा मौसम सुरु भए सँगै जिल्लामा आगलागीका घटना हुन थालेका छन् । बिहीबार राती देखी तीन दिन सम्म ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरेको खानीखोला सामुदायिक वनमा आगलागी भएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल साथै स्थानियले उक्त आगलागी नियन्त्रण गरेका थिए ।