लिखुको वडा स्तरमा मेलमिलापकर्ता सम्पर्क कार्यालय स्थापना

लिखुको वडा स्तरमा मेलमिलापकर्ता सम्पर्क कार्यालय स्थापना



ओखलढुंगाको लिखु गाउँपालिकाको वडास्तरमा मेलमिलापकर्ताको सम्पर्क कार्यालय स्थापना गरिएको छ । स्थानीय स्तरमा हुने विवाद निरुपणका लागि वडातहमै पर्याप्त छलफल र संवादमार्फत मिलापत्र गराउने उद्देश्यले मेलमिलापकर्ताको कार्यालय स्थापना गरिएको हो ।
ओखलढुंगा जिल्ला अदालतका न्यायाधीस गिरीराज गौतम उपस्थीतिमा लिखु गाउँपालिका न्यायीक समिति अन्तर्गत रहेको वडा नम्बर–३ मा मेलमिलापकर्ता सम्पर्क कार्यालय स्थापना गरिएको गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक अस्मिता थापाले बताइन् ।
गाउँ समाजमा हुने स–साना झैझगडा, विवाद पालिकासम्म नल्याईकन मेलमिलापकर्ताको माध्ययमबाट वडास्तरमै समाधान गर्न कार्यालय स्थापना गरिएको उपाध्यक्ष थापाको भनाई छ ।
मेलमिलाप सम्बन्धी कार्यसञ्चालन तथा व्यवस्थापनमा एकरूपता कायम गरी न्यायमा समुदायको सहज पहँुच अभिवृद्धि गर्न मेलमिलापकर्ताको कार्यालय स्थापनाले थप सहज हुने उपाध्यक्ष थापाले बताईन् । समुदायमा सामाजिक सद्भाव, शान्ती, सुव्यवस्था कायम गर्न मेलमिलाप कर्ताको भूमिका महत्वपूर्ण हुने गाउँपालिकाले जनाएको छ ।