ककनी गौरीवन सहकारीः ८६ लाख बढी कम ठगी

ककनी गौरीवन सहकारीः ८६ लाख बढी कम ठगी

१०१ जना बचतकर्ता पीडित



ककनी गौरीवन कृषि सहकारी संस्था लिमिटेड ओखलढुंगाले ८६ लाख बढी रकम ठगी गरेको पाईएको छ । १०१ जना बचतकर्ताको ४६ लाख ८७ हजार ५८६ र युवा तथा साना व्यवसायी स्वरोजगार कोषको ३९ लाख ८५ हजार १३९ रुपैयाँ गरी ८६ लाख ७२ हजार ७२५ रकम ठगी भएको पाईएको हो ।
१०१ जना बचतकर्ता र युवा तथा साना व्यवसायी स्वरोजगार कोषले सहकारीका सञ्चालक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा परेको आठ वटा जाहेरीका आधारमा ८६ लाख ७२ हजार ७२५ रुपैयाँ रकम हिनामिना भएको पाईएको छ ।
हाल सम्म बचतकर्ता र युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उजुरीको आधारमा ८६ लाख ७२ हजार ७२५ रुपैयाँ रकम ठगी भएको पाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बालिस्टार सिंहले बताए । जाहेरी पर्ने र पीडित प्रहरीको सम्पर्कमा आउने क्रम निरन्तर भईरहेकाले ठगी भएको रकम बढ्न सक्ने प्रहरी निरिक्षक सिंहको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले एक सुचना जारी गरी यस सहकारी संस्थाबाट कोही ठगीमा परी पीडित भएको भए जाहेरी दर्खास्त दिन अनुरोध गरेको छ । ठगिमा परेकाले उजुरी दिन बाँकी कोही भए जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको हो ।
बचतकर्ताको रकम ठगी गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक मध्येका अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षलाई पक्राउ गरेको छ । जिल्लाको चम्पादेवी गाउँपालिका–९ विलन्दु स्थायी घर भएका सहकारीका अध्यक्ष विनोद सुनुवारलाई काठमाण्डौं महानगरपालिका–६ बौद्धबाट र उपाध्यक्ष मोलुङ गाउँपालिका–४ हर्कपुर ओखलढुंगाका पदम बहादुर खत्रीलाई घरैबाट प्रहरीले पक्राउ गरेको हो । यसका साथै सहकारीका कोषाध्यक्ष पाँचथर जिल्ला साबिक इङबुङ गाविस–१ हाल सिद्धिचरण नगरपालिका–१२ भैरबटोल ओखलढुङ्गा बस्ने ४८ वर्षिय नेत्रबहादुर नेम्वाङलाई सिद्धिचरण नगरपालिका–६ जन्तरखानी बाट प्रहरीले पक्राउ गरेको छ । तीनै जना लामो समय देखी फरार रहेका थिए ।
पक्राउ परेकाहरु माथि जिल्ला अदालतबाट थुनामा राखेर अनुसन्धान गर्न ६ दिनको म्याद लिइएको प्रहरी निरिक्षक सिंहको भनाई छ । पक्राउ परेको सहकारीका अध्यक्ष सुनुवार नेकपा माओवादी केन्द्र ओखलढुंगाका जिल्ला सचिव र नेम्बाङ जनता समाजवादी पार्टीका नेता हुन् ।
बचतकर्ता मध्येका तिलक श्रेष्ठले गत मंसिर १५ गते सहकारीका सञ्चालक विरुद्ध जाहेरी दर्ता गर्नुभएको थियो । सहकारी मार्फत ठगीएका बचतकर्ताहरु धमाधम प्रहरीको सम्पर्कमा आउने क्रम बढी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।