सिद्धिचरण नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी रुम्जाटार माध्यमिक विद्यालय रुम्जाटारले जितेको छ । प्रतियोगितामा ४९ स्वर्ण, आठ रजत र ११ काश्य गरि ६८ पदक सहित रुम्जाटार माविले उपाधी हात पारेको हो ।
यस्तै १८ स्वर्ण, २६ रजत र छ काश्य गरि ५० पदक सहित लाली गुराँस बाेर्डिङ्ग स्कुल द्वितीय भएको छ । १० स्वर्ण, १६ रजत र तीन काश्य सहित २९ पदक सहित सगरमाथा जनता मावि ओखलढुंगा तृतीय भएको सिद्धिचरण नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
विजेता विद्यालयका खेलाडीलाई सिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार पूर्वमन्त्री अम्बिरबाबु गुरुङको हातबाट हस्तान्तरण गरिएको छ । खेलाडीलाई पुरस्कृत गर्दै समापन कार्यक्रमका प्रमुख अतिथि पुर्वमन्त्री अम्बिरबाबु गुरुङले खेल क्षेत्रको विकास संधै आफ्नो प्राथमिकतामा परेको बताए । यसमा सबै एकजुट हुन आवश्यक रहेको उनको भनाई थियो ।
यस्तै सिद्धिचरण नगरपालिकाका उप–मेयर केदारबाबु बस्नेतले शैक्षिक गुणस्तर सुधार सँगै खेलकुद क्षेत्रको विकासमा पालिकाले सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
प्रतियोगितामा पालिकाका १८ वटा विद्यालयहरुको सहभागिता थियो । तर सगरमाथा जनता माविले बने खेलमा धाँधली भएको भन्दै शनिबार खेल बहिस्कार गरेको थियो ।
भलिबल, दौड, हाइजम्प, लङ जम्प लगायत विभिन्न विधामा खेलहरु सञ्चालन भएका थिए । खेल रुम्जाटार माविको खेल मैदानमा पुस ४ देखि ७ गते सम्म सञ्चालन भएको थियो ।
खेलक्षेत्रमा युवा विद्यार्थीको क्षमता विकास गर्ने राष्ट्रपति रनिङ शिल्डलाई आगामी दिनमा थप व्यवस्थित र प्रभावकारी बनाइनुपर्ने उपाधी विजेता रुम्जाटार माविका प्रअ गोकर्ण बानियाले बताए । रनिङ शिल्डले विद्यार्थीको खेल तथा व्यक्तित्व विकासमा सहयोग पुग्ने उनको भनाई थियो । रनिङ शिल्डलाई विद्यालय र विद्यार्थी बिचको प्रतिस्पर्धाका रुपमा मात्रै लिन नहुने उनको भनाई छ ।
वर्षेनी आयोजना हुने राष्ट्रपति रनिङ शिल्ड यसवर्ष जिल्लाका अधिकांश पालिकामा भईसकेका छन् ।
प्रतिक्रिया