चिशंखुगढी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी माम्खा माध्यमिक विद्यालय माम्खाले जितेको छ । प्रतियोगितामा ३२ स्वर्ण, १० रजत र १ काश्य गरि ४५ पदक सहित माम्खा मावि प्रथम भएको हो ।
यस्तै १४ स्वर्ण, नौं रजत र १० काश्य गरि ३३ पदक सहित कुइभिर मावि कुइभिर द्वितीय भएको छ । १० स्वर्ण, २४ रजत र सात काश्य सहित ४१ पदक सहित सरस्वती मावि खानीभञ्ज्याङ तेश्रो भएको चिशंखुगढी गाउँपालिका शिक्षा शाखाले जनाएको छ ।
विजेता विद्यालयका खेलाडीलाई सिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार बाट पुरस्कृत गर्दै गाउँपालिका अध्यक्ष निशान्त शर्माले खेलकुद क्षेत्रको विकासका लागी पालिकाले निरन्तर काम गरि रहेको बताएका थिए । शैक्षिक गुणस्तर सुधार सँगै खेलकुद क्षेत्रको विकासमा पालिकाले सक्दो पहल गर्ने उनको भनाई थियो ।
प्रतियोगितामा पालिकाका सात वटा माध्यमिक तहका विद्यालयहरुको सहभागिता थियो । भलिबल, दौड, हाइजम्प, लङ जम्प लगायत विभिन्न विधामा खेलहरु सञ्चालन भएका थिए । खेल माम्खा माविको खेल मैदानमा पुस २६ देखि २९ गते सम्म सञ्चालन भएको थियो ।
प्रतिक्रिया