प्रथम पद्म स्मृती स्पोर्ट्स क्लवद्धारा आयोजित खुल्ला फुटबल प्रतियोगिताको उपाधि सुनकोशी गाउँपालिका–६ पाराले जितेको छ । शनिबार भएको फाइनल खेलमा हुलाकडाँडा फुटबल क्लब ओखलढुंगालाई ३–१ गोल अन्तरले हराउँदै पाराले उपाधि हात पारेको हो ।
प्रतियायोगितामा विजेता बनेको पाराले ४४ हजार चार सय ४४ को साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उप–विजेता बनेको हुलाकडाँडा फुटबल क्लवले ३३ हजार तीन सय ३३ को साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताका सेमिफाइनलिष्ट दुई टिम साइनिङ स्टार युवा क्लब अँधेरी र मोलुङ स्टार युवा क्लब मोलुङले नगद सात हजार पाँच सय प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा पाराका डिकेश राई उत्कृष्ट खेलाडी, पाराकै सुशील आलेमगर उत्कृष्ट किपर, हुलाकडाँडा फुटबल क्लबका मिलन राई हाई स्कोरर र मिलन राई अनुसाशित खेलाडी घोषित भएको क्लबका अध्यक्ष सुरज राईले जानकारी दिए ।
प्रतियोगिताका विजेता, उप–विजेता, सेमिफाइनलिष्ट तथा उत्कृष्ट खेलाडीलाई सिद्धिचरण नगरपालिका मेयर तेजेन्द्र खनालले नगद् पुरस्कार, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरेका छन् । पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मेयर खनालले खेल क्षेत्रको विकास र खेलाडीको क्षमता विकासका लागि नगरपालिकाले पनि सक्दो काम गरिरहेको बताएका छन् ।
प्रतियोगिता पौष २५ गते देखि २८ गतेसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा १५ टिम सहभागिता भएको आयोजकले जनाएको छ । खेल सिद्धिचरण नगरपालिका–३ अँधेरीको खेल मदानमा भएको थियो ।

प्रतिक्रिया