लेखा अधिकृत नहुँदा मोलुङमा ६ महिनादेखि आर्थिक कारोबार ठप्प

लेखा अधिकृत नहुँदा मोलुङमा ६ महिनादेखि आर्थिक कारोबार ठप्प

योजना प्रभावित, कर्मचारीले तलब पाएनन्


भिजन समाचार
2.6k
Shares

ओखलढुंगाको मोलुङ गाउँपालिकामा लेखा अधिकृत नहुँदा विकास निर्माण देखि पालिका सञ्चालनमा समस्या भएको छ । विगत ६ महिना देखि लेखा अधिकृत नहुँदा पालिकाको आर्थिक गतिविधि ठप्प बनेको हो ।

आर्थिक कारोबार ठप्प हुँदा विकास निर्माण योजना प्रभावित भएका छन् भने कर्मचारी र शिक्षकले तलब पाएका छैनन् ।

लेखा कर्मचारी व्यवस्थापनको लागि प्रदेश र संघीय सरकारसँग पटकपटक पहल गर्दा समेत पदपुर्ति नहुँदा पालिका सञ्चालनमा समस्या आएको गाउँपालिका अध्यक्ष उत्तम राईले बताए । आर्थिक कारोबारको सम्पूर्ण जिम्मेवारी सम्हाल्नुपर्ने लेखा अघिकृत नहुँदा ६ महिना लेखा सम्बन्धि कार्यालयको काम, लामो समय यता कर्मचारी र शिक्षकलाई तलब निकासीलगायतको काम हुन नसकेको गाउँपालिका अध्यक्ष राईको भनाई छ । ‘लेखा कर्मचारी नहुँदा निकै समस्या भएको छ । योजनाका काम ठप्प हुने अवस्था छ । नयाँ योजना सुरु गर्न पेश्की दिन, सम्पन्न भएका योजनाको भक्तानी गर्न देखि कर्मचारी, शिक्षकलाई तलव खुवाउन समेत समस्या भइरहेको छ ।’ उनले भने, ‘हामीले पहल नगरेका हैनौँ । म आफैँ प्रदेश र संघ सरकारका सम्बन्धित मन्त्रालयमा पुगेर माग गरेँ तर उहाँहरुले विभिन्न बाहाना देखाएर टार्नुहुन्छ । अझै पनि लेखा अधिकृत ल्याउन हामीले पहल गरिरहेका छौँ ।’ माथिल्ला निकायले स्थानीय तहका समस्या नबुझ्दा समस्या भएको उनको भनाई छ ।

पालिकामा लेखा कर्मचारी नहुँदा वडा कार्यालयहरु पनि प्रभावित बनेका छन् । समयमै रकम निकासा नहुँदा विकास निर्माणका कार्य अघि बढ्न नसकेको मोलुङ गाउँपालिका–२ रामपुरका वडा सचिव योगेश्वर दाहालले बताए । ‘पालिकामा लेखा कर्मचारी नहुँदा हामीलाई पनि समस्या छ । तीन महिना भयो तलब निकासा भएको छैन ।’ उनले भने, ‘वडा सञ्चालनका लागि पनि ऋण लिनुपर्ने अवस्था छ ।’ अन्य शाखाका कामहरु अरु कर्मचारीबाट हुने भएपनि लेखाको काम सम्बन्धित शाखाकै जिम्मेवार व्यक्तिबाट हुने भएकाले तत्काल व्यवस्थापन नभए झन समस्या थपिने अवस्था रहेको उनको भनाई छ ।

समयमा तलब नपाउँदा शिक्षक र कर्मचारीहरु पनि समस्यामा परेको शिवदुती माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार ढकालले बताए । समयमा आर्थिक कारोबार नहुँदा शिक्षकले तलव नपाएको, विद्यालयमा आउने अन्य शिर्षकका बजेट भुक्तानी नभएको उहाँको भनाई छ । उनले भने, ‘पालिकामा लेखा कर्मचारी नभएकोले होला समयमा तलव निकासा भएको छैन । विद्यालयको लागि आवश्यक पर्ने सामानहरु पनि केहि उधारोमा र केहिमा आफैले खर्चेर पनि गरिरहेका छौँ ।’ कतिपय बाहिरी जिल्लाबाट आएर मोलुङमा कार्यरत शिक्षक र कर्मचारीलाई तलब नपाउँदा खर्च धान्न समस्या भएको छ ।