मिटरबक्स ल्याईदिन्छु भनी तीन गाउँमा रकम ठगी

मिटरबक्स ल्याईदिन्छु भनी तीन गाउँमा रकम ठगी


भिजन समाचार
64k
Shares

बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनी मानेभञ्ज्याङ गाउँपालिका–६ थाक्लेका सुमन बास्कोटाले बलखुका तीन गाउँका नागरिकलाई रकम ठगेको पाईएको छ । सुनकोशी गाउँपालिका–१ को ढेबुवाघाट माझी बस्ती, साँधी र भिरगाउँका स्थानियलाई बास्कोटाले मिटरबक्स ल्याईदिन्छु भनेर रकम ठगी गरेको पाईएको हो । ढेबुवा माझीगाउँका नौ घरलाई मिटरबक्स ल्याईदिन्छु भनेर ४६ हजार ७०० रकम लगेर काम नगरेको ढेबुवाका डिल्लीराम माझीले बताए ।
आठ घर बाट पाँच हजार चार सय र एक घरबाट तीन हजार पाँच सय दरले रकम लगेर मिटरबक्स नल्याएको माझीले जानकारी दिए । करिब नौ महिना अघि गीता माझी, विवेक माझी, धनबहादुर माझी, इबुराम माझी, रहबहादुर माझी, रविमाया माझी, डिल्लीराम माझी र गणेश माझी बाट बास्कोटाले पाँच हजार चार सयका दरले रकम उठाएर लगेका थिए । रविन माझीले बास्कोटालाई तीन हजार पाँच सय दिएको बुझिएको छ । स्थानिय बाट रकम लिएर लामो समय सम्पर्क बिहिन बनेका बास्कोटाले ढेबुवाबासीलाई १५ हजार फिर्ता गरेको र बाँकी ३१ हजार ७०० फिर्ता गर्न बाँकी रहेको डिल्लीराम माझीले बताए । मिटरबक्स, तार ल्याईदिन्छु भनि पैसा लगेर बास्कोटाले नल्याएकाे ढेबुवाका इबुराम माझीले बताएका छन् । ढेबुवाघाट माझी बस्तिमा अझै विधुतको पोल तार समेत पुगेको छैन ।
यस्तै सुनकोशी गाउँपालिका–१ साँधीका युवराज राईलाई २६ हजार रकम लिएर बास्कोटाले ठगेका छन् । राईको दुई वटा घरमा मिटरबक्स ल्याउन छ हजार र वायरिङका लागि २० हजार रकम लिएर बास्कोटाले काम नगरेको राईले बताएका छन् । रकम फिर्ता माग्दा पनि नदिएको उनको भनाई छ । बास्कोटाले सोही गाउँका केही घरपरिवारलाई मिटरबक्स ल्याईदिने भनेर ६८ हजार लगेर सम्पर्क विहिन बनेको नरहरी राईले बताएका छन् । राईका छोरा टालबाबु राई मार्फत बास्कोटाले ६८ हजार रकम लिएर गएको तर मिटरबक्स नल्याएको नरहरी राईले बताए । रकम फिर्ता र बास्कोटालाई कानुनी कारबाहीको माग गर्दै हर्कपुर प्रहरी चौकीमा उजुरी गरिएको राईले जानकारी दिए । टालबाबुको केही महिना अघि निधन भएपछी उनका बुवा नरहरी राईले बास्कोटा बाट स्थानियको रकम फिर्ता लिन कानुनी प्रक्रिया थालेका हुन् ।
बास्कोटाले बखलुकै भिरगाउँका १७ घरलाई मिटर बक्स ल्याउछु भनेर स्थानिय मिनकुमार मगर मार्फत ५१ हजार रकम लगेको जानकारी प्राप्त भएको छ । रकम लिएर लामो समय सम्म सम्पर्क विहिन बनेका बास्कोटाले छ महिना पछि २० हजार फिर्ता गरेको र ३० हजारको बैंकको चेक दिएको मगरले बताए । बास्कोटाले बैंक खातामा पैसा नभएको चेक दिएर दुःख दिएको मगरले गुनासो गरेका छन् ।
ढेबुवा, साँधी, भिरगाउँका स्थानियहरुलाई बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनेर रकम लगेर बास्कोटा बेपत्ता भएको गुनासो आएको सुनकोशी गाउँपालिका–१ का वडा अध्यक्ष प्रकाश सापकोटाले बताए । बास्कोटालाई फोन सम्पर्क गरेर नागरिक बाट उठाएर लगेको पैसा फिर्ता गर्नु भन्दा पनि अटेर गरेको वडा अध्यक्ष सापकोटाले जानकारी दिए । पटक पटक समन्वय गर्न खोज्दा सम्पर्कमा नआउने र वडाबासीको पैसा फिर्ता गर्नुभन्दा बेवास्ता गरेको वडा अध्यक्ष सापकोटाको भनाई छ । मिटरबक्स ल्याईदिन्छु भनेर बलखु माध्यमिक विद्यालयबाट समेत बास्कोटाले रकम उठाएर लगेको बुझिएको छ ।
यस विषयमा बुझ्न बास्कोटा सँग फोन सम्पर्क गर्दा स्थानियहरु बाट लगेको रकम फिर्ता गर्ने तयारीमा रहेको बताएका छन् । केहीको फिर्ता गरिसकेको र बाँकीको रकम पनि चाढै फिर्ता गर्ने बास्कोटाले बताए । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक बालिस्टार सिंहका अनुसार बास्कोटा विरुद्ध प्रहरीमा ठाडो निवेदन परेको छ । यस विषयमा बास्कोटालाई सम्पर्कमा ल्याएर अनुसन्धान गरेर ठगी गरेको हो होईन एकिन हुने प्रहरी निरिक्षक सिंहले जानकारी दिए । बास्कोटा बाट पीडित नागरिकहरुलाई प्रमाण सहित जाहेरी दिन प्रहरीले अनुरोध गरेको छ ।
यस अघि सुनकोशी गाउँपालिका–४ जेरुङघाटका १४ घर परिवारलाई पनि मिटरबक्स ल्याईदिन्छु भनेर लगेको रकम छ महिना पछि बास्कोटाले फिर्ता गरेका थिए ।