एमालेको जनसभा लक्षितः पहिचान पक्षधरको आम हडताल घोषणा

एमालेको जनसभा लक्षितः पहिचान पक्षधरको आम हडताल घोषणा



ओखलढुंगाको हर्कपुरमा हुन लागेको नेकपा एमालेको जनसभालाई लक्षित गरेर पहिचान पक्षधरले आम अडतालको घोषणा गरेका छन् । यहि मंशिर २६ गते मंगलबार मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा हुन लागेको एमालेको विशाल जनसभा कार्यक्रमलाई लक्षित गरेर पहिचान पक्षधरले घुर्मी देखी चिवाभञ्ज्याङ सम्म मध्यपहाडी लोकमार्ग क्षेत्रमा आम हडताल घोषणा गरेका हुन् ।
प्रदेशको नाम ‘कोशी’ खारेजी र पहिचानको आधारमा नाम माग्दै आन्दोलनरत पहिचान पक्षधरले मंशिर २६ र २७ गते उदयपुरको घुर्मी देखी चिवाभञ्ज्याङ सम्मको मध्यपहाडी लोकमार्गमा यातायात सञ्चालन ठप्प पार्ने जनाएका छन् । प्रदेश नं.१ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति खोटाङले विज्ञप्ती मार्फत मध्यपहाडी लोकमार्ग उदयपुरको घुर्मी देखी लेगुवाघाट क्षेत्रमा अनिश्चितकाल बन्द गर्ने जनाएको छ ।
प्रदेशमा एमालेको सरकार भएको समयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वले प्रदेशको नाम कोशी राखेकोले पहिचान पक्षधर एमाले विरुद्ध कडा विरोध प्रदर्शनमा उत्रिएको बुझिएको छ । पहिचान पक्षधरले गत मंशिर १४ गते उदयपुरको घुर्मीमा विरोध कार्यक्रम आयोजना गरी प्रदेशका ८२ जना सांसद विरुद्ध गाउँ, नगर प्रवेश निषेध गर्ने घोषणा सहित चिवाभञ्ज्याङ सम्म पहिचान जागरण अभियान सञ्चालन गर्ने उद्घोष गरेका थिए ।

यता नेकपा एमालेको बैतडीको झुलाघाट देखि पाँचथरको चिवाभञ्ज्याङ सम्म मध्यपहाडी लोकमार्ग पदयात्रा अभियान २६ गते ओखलढुंगाको टोक्सेल हर्कपुरमा आईपुग्ने कार्यक्रम रहेको छ । हर्कपुरको विशाल आम सभालाई एमाले अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले ओखलढुंगा अध्यक्ष शंकर कटुवालले जानकारी दिए । हर्कपुरको कार्यक्रम सकेर अध्यक्ष ओली सहितको संकल्प यात्रा टोली खोटाङ हुदै पुर्व चिवाभञ्ज्याङ पुग्ने नेकपा एमालेले जनाएको छ ।
एमाले अध्यक्ष ओलीले बैतडीको झुलाघाटमा मंशिर १४ गते बिहान नेपाली झण्डा झण्डोत्तोलन गरेर संकल्प यात्राको शुभारम्भ गरेका थिए । यस अवसरमा अध्यक्ष ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्न अभियान थालिएको बताएका छन् ।